४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

अनुभूति : यसरी लेखियो, आदिवासी विद्रोहको इतिहास



राजकुमार दिक्पाल

अहिले प्रवासी जीवन ब्यतित गरिरहेको छु । स्वदेशबाट प्रवासतर्फ पाइला उचाल्दै गर्दा आफूले २२ वर्ष पत्रकारिता र त्योसँगै आठ वर्ष प्राध्यापनमा ब्यतित गरेको अनुभवको सङ्गालो थियो, मसँग ।

तर जीवनमा जोडिएको यस्तो सम्पत्तिलाई माया मारेर प्रवासतर्फ पाइला चलाएँ । यसमा केही रहर थिए, अनि केही बाध्यता ।

प्रवासतर्फ पाइला उचाल्दै गर्दा मैले हरेक दिनको एउटा तालिका बनाएको थिएँ । तालिका थियो, आठ घण्टा श्रम गर्ने, आठ घण्टा सुत्ने । बाँकी समयमध्ये चार घण्टा परिवार र साथीहरुलाई दिदै चार घण्टा चाहिँ अध्ययन, लेखन र चिन्तनमा लगाउने ।

राजकुमार दिक्पाल

लेखनका सन्दर्भमा दुई वटा इतिहाससम्बन्धी लेख लेख्ने योजना नेपालबाटै बनाएर आएको थिएँ । बाँकी जे भोगिन्छ, ती लेख्दै जाऊँला भन्ने थियो ।

मैले प्रवासमा रहेर लेखूँला भन्ने इतिहासमध्ये एउटा थियो, पृथ्वीनारायण शाहका बुवा नरभुपाल शाहको मृत्यू हुँदा उनको साथमा सति गएका एक कमारो केटोसँगको नरभुपाल शाहको सम्बन्ध । दोस्रो थियो, राई लिम्बूमा रहेको मेगजिन करसम्बन्धी भ्रम निवारण ।

आफ्नो योजनाअनुसार यी दुवै इतिहास लेखेर नेपालको मूलधारकै सञ्चारमाध्यममार्फत प्रकाशनमा ल्याएँ, सात वर्षअघि ।

हुन त नेपालमै छँदा मभित्रको इतिहास अध्ययनको तिब्र ब्याकुलताले लेखनको साधनका लागि केही सन्दर्भ सामग्री र पुराना कागजपत्रहरु सङ्कलन गरेको थिएँ, जो मेरो ल्यापटपमा सुरक्षित छन् । माथिका दुई इतिहाससम्बन्धी सामग्री प्रकाशमा ल्याएपछि पाएको सकारात्मक प्रतिक्रियाले आफूसँग भएका सन्दर्भ सामग्री तथा पुराना कागजपत्रहरु ओल्टाइपल्टाई गर्ने उत्साह जागिहाल्यो ।

ती महत्वपूर्ण सन्दर्भ सामग्रीमध्ये इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’को एउटा अङ्कमा आँखा प¥यो । तत्कालिन राजा रणबहादुर शाहले नुवाकोटमा वि.सं. १८५० मा एक हजार विद्रोही तामाङलाई काटेको तथ्यसहितको पत्र त्यतिबेला नुवाकोट खटिदै गरेका कप्तान कालु पाँडे (बाहुन)लाई लेखिएको पाइयो । लाग्यो, यो भयानक तामाङ विद्रोह इतिहास लेखनको एउटा पाटो हुनेछ । यसका पृष्ठभूमि समेटेर एउटा लेख ‘जनआस्था’ साप्ताहिकमा छपाएँ । यसले पहिलेको लेखनभन्दा झन ठूलो चर्चा पायो । यो इतिहास पढेर केही आदिवासी अधिकारवादी नेताले भाषण गरेको पनि युट्युवमा हेर्न सुन्न पाइयो । सञ्चारको शक्ति अनुभूत भयो ।

यस्तै एक साँझ पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’का अङ्कहरु पढिरहेको थिएँ, तीमध्ये एउटा अङ्कमा लेखिएको पाठले सम्बन्धित विषयमा थप जिज्ञासु बनायो । ‘शाके १७१३ मा किराती मूलुकमा लिम्बुहरुले कूल गरेको…’ भन्ने ब्यहोरा त्यहाँ परेपछि अब यसबारे थप अध्ययन अनुसन्धानलाई आवश्यक ठानियो ।

‘कूल गरेको’ भनेको के होला ? इतिहासकार प्रा. दिनेशराज पन्तसमक्ष फोनमार्फत जिज्ञासा राखेँ । उहाँले भन्नुभयो,‘कुल गरेको भनेको विद्रोह गरेको हो ।’

शाके अर्थात् शक संवत १७१३ भनेको वि.सं. १८४८ हो । हालः बेलायतनिवासी इतिहास र संस्कृतिका मर्मज्ञ साहित्यकार टङ्क वनेमबाट सप्रेम उपहारस्वरुप प्राप्त तत्कालिन चर्चित लिम्बु सुब्बा सिर्देउ रायलाई प्रदान गरिएको दुई वटा रुक्कामा पनि ‘अठचालिस सालमा कुल हुँदा…’ भन्ने परेको पाइएपछि यसबारे म ढुक्क भएँ, वि.सं. १८४८ मा लिम्बुहरुले ठूलो विद्रोह मच्चाएको इतिहास लेखनमा ।

लेखिरहेको थिएँ, त्यसैबेला एक जना बौद्धिक ब्यक्तित्व डा. तारामणि राईसँग संवाद भयो । हामी दुईबीचको संवादका क्रममा ताराजीले भन्नुभयो,‘मेरो सम्पादनमा एउटा जर्नल निस्कनै आँटेको छ, तपाईसँग कुनै लेख छ ?’

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको जर्नल ‘आदिवासी जनजाति’ लागि लेखको माग आएपछि मैले ‘लिम्बु विद्रोह–१८४८’ लेखेँ । जो छापिएपछि नेपालका आदिवासीहरुबाट भएको ठूला ठूला विद्रोहको इतिहासको खोजी र लेखनका क्रममा मेरा अनिदा रातहरु सुरु भए ।

आँखा उघारी देखेको सपना

एक दिन दिउँसो नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को कार्यालयमा पुगेको थिएँ, नेपाल छँदा । भेट भयो, फोनिज (त्यसबेला अनिज)का अध्यक्ष खिम घलेसँग । मेरो हातमा ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ पुस्तक थियो । पुस्तकप्रेमी खिमजीले भन्नुभयो,‘सोल्टीको इतिहास अध्ययनमा रुची रहेछ, पढ्दै गर्नुहोला कुनै दिन यो काम लाग्नेछ ।’

उहाँको भनाईले छोएपछि एउटा पुस्तकको तयारीमा लागेँ । यदि त्यो पुस्तक त्यतिखेरै प्रकाशनमा आएको भए, हतार हुने रहेछ । अहिले यस्तो लाग्छ । धन्न हतार गरिनछु ।

माथि उल्लेख भइसक्यो, अध्ययन गर्दै जादा निद्रा गायब हुन थाल्यो । भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कालमको एउटा अभिब्यक्ति भने मनभरि साँचेको थिएँ । त्यो अभिब्यक्ति थियो,‘सपना त्यो होइन, जो निदाएको बेला आउँछ, सपना त त्यो हो जो आँखा उघारेरै देखिन्छ ।’

मैले पनि आँखा उघारेरै एउटा सपना देख्न थालेछु ।

विदेशको बसाई, त्यो पनि त्यो बेला बेरोजगार अवस्था थियो । मनमा खेल्ने अनेक तर्कनाहरु छँदै थिए । न्यास्रोपन र केही निराशाहरु मनभरि दौडादौड गरिरहेकै थिए । तर तिनीहरुलाई तह लगाउने माध्यमका रुपमा इतिहास अध्ययन र लेखन मेरो लागि ठूलो सहयोगीसिद्ध हुन पुग्यो ।

अब मैले आफ्नो ल्यापटपलाई यसरी सुम्सुम्याउन थालेँ कि त्यहाँ ब्यवस्थापन गरिएको सन्दर्भ सामग्री र अर्काइभहरुको अध्ययन बिना न निद्रा लाग्थ्यो, न भोक जाग्थ्यो ।

आफूलाई आवश्यक परेको सन्दर्भ सामग्रीका पानाहरु झिकाउनका लागि नेपालमा रहेका मित्रजनहरुलाई हारगुहार गर्नु अर्को विकल्प थियो । छोरी युन्छोमी यसमा सधैँ अग्रसर भइदिदा राहत अनुभूति हुन्थ्यो । सम्धिसाव देवेन्द्र खापुङ, सँस्कृतिकर्मी मित्र गोविन्द न्यौपानेलाई धेरै पटक सन्दर्भ सामग्री ब्यवस्थापनका लागि दुःख दिएँ । लेख्दै गएँ र फूटकर लेखहरु छपाउँदै पनि गएँ ।

एक दिन मित बहिनी कविता राई ‘गाउँले’बाट सन्देश आयो,‘म दाजुको किताब छाप्न गर्नुपर्ने सहयोगका लागि तयार छु ।’

महसुस भयो, अध्ययन र लेखनसँगै अब एउटा कितावको तयारी गर्न पनि मेरो लागि जरुरी छ ।

भीरको बाटो भई यात्रा गर्दा

सोचेको थिइनँ, म यसरी प्रवासमा जान्छु भनेर । तर नसोचेको घटना भइदिन्छ, कहिलेकाहिँ । मेरो प्रवासी जीवन यस्तै नसोचेको घटनामध्येको एक हो ।
सबैको प्रवासी जीवनको अनुभूति म अभिब्यक्त गर्न सक्दिनँ, तर मेरो प्रवासी जीवन एउटा भीरको बाटोको यात्राजस्तो छ । भीरको बाटो साँघुरो हुन्छ । अलिकता भित्तामा ठोक्किए, भित्ताले ठेलिहाल्छ । तल छाँगाले तान्न खोज्छ । बडो जोगिएर सावधानी अपनाउँदै हिडिरहेको छु, यो यात्रामा ।

विदेश जाऊँला, उतै कमाऊँला अनि उतै रमाऊँला भन्ने सोच पहिले पनि थिएन, अहिले पनि छैन । तर अचम्म के भयो भने विदेशमा रहँदाबस्दा लेख्ने उत्साहले मनभरि उत्पात मच्चाउन थाल्यो, त्यसमा पनि इतिहास अनुसन्धानको क्षेत्रमा । श्रमले थकीत भएर पाकेको केराजस्तै सरीर बोकी निवासमा आएको बखत पो पढ्न र लेख्न जाँगर चलेर आउँदो रहेछ । मैले कठीन श्रमपछिको विश्रामको समयमै अधिकाँश अध्ययन र लेखनको ब्यवस्थापन गरेको हुँ । त्यसैको परिणामस्वरुप ‘आदिवासी विद्रोहको इतिहास’ को पहिला संस्करण २०७६ सालमा लोकसमक्ष अर्पण गर्ने अवसर जुर्यो ।

इतिहासमा मेरो अभिरुची जातीय इतिहास (एथ्निक हिस्टोरी)मा छ । यस्तो रुची प्रकट गरी लेख्दा जातिवादको अर्को बिल्ला पनि भिर्नु परेको छ । कसैले विदेशीको डलर खाएर लेखेको आरोप लगाउने गरेका छन् । कसैकसैले जाति जाति जुधाउने र गन्हाउने खालको इतिहास लेखन भयो भन्ने आरोप पनि आएको छ ममाथि । यसलाई म अन्यथा लिन चाहन्नँ, बिल्ला भिर्न तयार छु ।

तत्कालिन धर्माधिकार तोत्रराज पाण्डे र नयराज पन्तले २००४ सालमा ‘नेपालको संक्षिप्त इतिहास’ छाप्नुभयो । दार्जिलिङमा रहेर सूर्यविक्रम ज्ञवालीले पनि धेरै इतिहासका पुस्तकहरु प्रकाशनमा ल्याए । डा. राजेश गौतमले ‘इतिहास लेखनको इतिहास’ (२०५१ः३३९)अनुसार बेलायती नागरिक विलियम कर्कप्याट्रिकले लेखेको ‘एक एकाउन्ट अफ् कीङडम अफ् नेपाउल’ (सन् १८११) नेपालसम्बन्धी लेखिएको पहिलो इतिहासको पुस्तक हो । नेपालीले नेपालसम्बन्धी लेखेको पहिलो इतिहासको पुस्तक ‘नेपालको इतिहास’ (सन् १९२२) हो । बनारसबाट प्रकाशित यो पुस्तकका लेखिक अम्विकाप्रसाद उपाध्यय हुन् (गौतम,२०५१:३५१) ।

तर राणाशासनको त्यो समयमा यो पुस्तक एक प्रकारले प्रतिवन्धित जस्तै भयो । त्यसैबेला सिक्किमको गान्तोकबाट ‘किरात इतिहास’ (सन् १८४८) प्रकाशमा ल्याएर इमानसिंह चेम्जोङले नेपाली जातीय इतिहास लेखनको जग बसाल्न सुरु गर्नुभयो । यसअर्थमा चेम्जोङज्यू मूलधारका इतिहासकारहरुको नजरमा सन्दर्भ ग्रन्थकार हुनुभएन । उहाँ नेपाली मूलधारको इतिहासको एक उपेक्षित इतिहासकार रुपमा स्थापित हुनुभयो । अहिले उहाँको शीर उठाउनी लिम्बूहरुले गर्नु परेको छ । त्यसैले हरेक जनवरी १ मा भब्य रुपमा इमानसिंह चेम्जोङ जयन्ती मनाइन्छ । यसमा लिम्बूहरुनै अग्रसर हुने गरेका छन् । नेपालका इतिहासकारहरुमा इमानसिंह चेम्जोङको जति भब्य जन्मजयन्ती अन्य इतिहासकारको मनाइएको त्यति पाइदैन ।

म आफू विदेश बसेर श्रम गरेरै भए पनि नेपालको खासगरी आदिवासीहरुको इतिहासको अध्ययन र लेखनमा केही पसिना बगाउन चाहिरहेको छु, जसका कारण इमानसिंह चेम्जोङजस्ता विभूतिको चरणस्पर्श आफ्नो कलमले भएको अनुभूति गर्न पाइयोस ।

भीरको बाटोको यात्रामा यस्तो अनभूतिको महत्व सानो हुनेछैन ।

जीवनको यस्तो एउटा क्षण

पुस्तक प्रकाशनमा आउने भयो । मैले लेखेको पुस्तकमध्ये यो दोस्रो प्रकाशन हो । यसलाई चाहिँ भब्य रुपमै लोकार्पण गर्ने मन भयो । लोकार्पणमा सहभागिताका लागि नेपालको छोटा बसाईमा विभिन्न स्रोतहरुबाट फोन नम्बर सङ्कलन गरी धमाधम एक सय जना जतिलाई फोन गरेँ । सोचेँ, सय जनालाई फोन गरेकोमा ५०÷६० जना जति आउलान् । कार्यक्रम जसोतसो चल्ला ।

तर अचम्म भयो, करीव दुई सय जनाको उपस्थिति भयो । फेसबुक हेरेरै सरोकारवाला बौद्धिक ब्यक्तित्वहरुको सघन उपस्थितीले २०७६ साल पुस १२ गते शनिबारको त्यो चिसो मौसममा मैले न्यानो आत्मीयताको अनुभूति गरेँ । यो न्यानोपनले मलाई इतिहासमा थप जिज्ञासु बनाएको छ । मनमा अझै लेख्ने जागरण विकसित भएको छ ।
मेरो पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’को परिमार्जित दोस्रो संस्करण मञ्जरी प्रकाशनले हालै प्रकाशित गरेको छ । यसमा मैले थप वि.सं. १८२७ मा नेवारहरुले पृथ्वीनारायण शाहको झण्डै ज्यान जाने गरी गरेको विद्रोहलाई पनि समेटेको छु ।

यो पुस्तकको ब्यापक माग आएपछि दोस्रो संस्करण गत वर्ष नै प्रकाशित गर्ने चासो मञ्जरी पब्लिकेसनले देखाएको थियो । तर विगतमा भएका केही भूलसुधार र थप विद्रोहको खोजी र लेखनले समय लियो । त्यसैले यो वर्ष मात्र पुस्तक बजारमा आउन सफल भयो ।

मेरो अर्को एउटा चाहना छ, यसलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी यसको अङ्ग्रेजी संस्करण पनि बजारमा ल्याउने । यसो गरियो भने नेपालको आदिवासी विद्रोहको इतिहास अन्तराष्ट्रिय प्राज्ञिक जगतमा पनि पुग्नेछ । तर यो सजिलो त पक्कै छैन, होस्टेमा हैंसे भयो भने असम्भव पनि छैन ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १ : ५८ बजे