नेपाल सेन्टर अफ नर्थक्यारोलिना (एनसीएनसी) ले नयाँ वर्ष २०८० को अवसर पारेर सातौं नेपाल दिवस महोत्सव मनाउने भएको छ । कार्यक्रम २०२३ अप्रिल १५ का दिन मोरिसभिलको चर्च स्ट्रीट पार्कमा हुने भएको छ ।
नेपाल सेन्टर अफ नर्थक्यारोलिना एक गैर-नाफामुलक संस्था हो । यसले नेपाली संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्ने कार्य गर्दै आएको छ ।
संस्थाले जारी गरेको विज्ञप्ति अनुसार कार्यक्रम चर्च स्ट्रीट पार्कको क्रिकेट पिच वरिपरि एक झाँकी र्यालीसहित सुरु हुने छ । त्यसमा नेपाली बिभिन्न जातीय भेषभूषासहित प्रखशर्न हुने छ भने एक हजार भन्द बढिको सहभागी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको अतिथिको रुपमा स्टेट सेक्रेटरि इलेन मार्शल उपस्थित रहने र उनैले र्यालीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा नेपाली परम्परागत संगीत वाद्ययंत्र, भेषभूषा तथा अन्य सांस्कृतिक भांकीहरुको प्रदर्शनी गरिने छ । यस कार्यक्रमलाई नेपाल सेन्टरले नर्थ क्यारोलिनामा बसोबास गर्ने नेपाली मूलकाहरू र अन्य राज्यबाट कार्यक्रममा उपस्थित हुनेहरुको लागी ऐतिहासिक दिन रहेको पनि उल्लेख गरेको छ । स्थानीय सरकार र नेपाल सेन्टरले अप्रिलको तेस्रो शनिबारलाई नेपाल दिवसको रुपमा घोषणा गरेको छ ।
पार्कमा एक दिनभर चल्ने महोत्सवमा नेपाली खानाका स्टलहरू, सांस्कृतिक केन्द्रहरु तथा स्थानीय संस्था र व्यवसायहरूलाई प्रदर्शनीको लागि राखिने छ भने नेपाली परम्परागत नृत्य, गीत र अन्य प्रस्तुति रहनेछन् ।
“हामी सातौं नेपाल दिवस कार्यक्रमको आयोजना गर्न र स्थानीयसँग नेपाली नयाँ वर्ष मनाउन पाउँदा हर्षित छौं” एनसीएनसीका अध्यक्ष राम पौडेलले भने, “यो समृद्ध नेपाली सम्पदा र विविधता प्रदर्शन गर्ने उपयुक्त अवसर पनि हो । यसले नर्थ क्यारोलिनाका नेपाली मूलका जनताबीचको सहकार्य र एकतालाई पनि उजागर गर्ने छ ।”
जो कोही सहभागी हुन सकिने यस कार्यक्रममा राज्य र स्थानीय तहका सरकारी अधिकारीहरूको सहभागिताको पनि अपेक्षा गरिएको छ । “स्थानीय सरकारले जुन खालको सहयोग र समर्थन गरेको छ, यसले हामी खुशी छौं, यसले स्थानीय समुदायसँग सुमधुर सम्बन्ध निर्माण गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ” अध्यक्ष पौडेलले थपे ।
नेपाल सेन्टर अफ नर्थ क्यारोलिना 1999 मा स्थापना गरिएको सस्था हो । नेपाली संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनका साथै नेपालमा रहेका र यहाँका बासिन्दाहरू बीचको सहकार्यलाई सहजीकरण गर्ने पनि यसले उदेश्य राखेको छ । यस संस्थाले विगत २४ वर्षदेखि अन्तर्राष्ट्रिय चाडपर्व मनाउने, बेला बेलामा पिकनिक, रक्तदान गर्नेलगायतका सामाजिक कार्यहरु गरेर स्थानीयसँग सहकार्य गर्दै आएको छ ।