महाभूकम्प पछि बन्द रहेको चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति भएको हो ।
नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार यस छलफलमा चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न वैशाख १८ (मे १) बाट नाका खोल्नेसहित ६ बुँदे मौखिक निर्णय भएको हो ।
‘सीमा सुरक्षाबीच ‘क्रस बोर्डर क्राइम ’लाई लिएर पर्याप्त छलफलबीच मे १ बाट नाकाबाट निकासी खोल्ने र अन्य व्यवस्थापन र अपराधन नियन्त्रणबारे छलफल र मौखिक सहमति भएको छ, ’ प्रजिअ न्यौपानेले भने । यसअघि दुई पटक क्रमशः फागुन ४ र चैत ६ गते नेपालबाट जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक सम्पन्न भएको थियो ।
त्यतिखेर मितेरी पुल र खासाकै भवनमा सीमा सुरक्षाको विषयमा ‘काउन्टर पार्ट मिटिङ’ बस्दा चीन पक्ष नाका खोल्न सकारात्मक देखिएर सल्लाह सुझाव मागेका थिए । मंगलबारको ‘काउन्टर पार्ट मिटिङ’मा सीमाबाट निर्यातसहित कोभिड १९ सावधानी अपनाउने सूचना सप्रेषण, अन्तरदेशीय सीमा नाका सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र न्यूनीकरण संवेदनशील रहेर गस्ती, थप चेक प्वाइन्टमा कडा जाँच, सूचना आदानप्रदानजस्ता मुख्य विषय थिए ।