राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन्दीपले ओमानका आदिल साफिकको विकेट लिएसँगै विश्व कीर्तिमान आफ्नो नाममा दर्ता गराएका हुन् ।
सन्दीपले १२ ओभरको तेस्रो बलमा साफिकलाई पेवेलियनको बाटो देखाएका थिए। साफिक ३३ बलमा १३ रन बनाएको अवस्थामा एलबीडब्लु धरापमा परेका हुन् ।
योसँगै सन्दीपले ओडिआइ क्रिकेट इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन् । सन्दीपले ४२ खेलमा एक सय विकेट लिँदै अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडेका हुन् ।
यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए ।