१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

रास्वपाका सभापति लामिछाने फराकिलो मतान्तरले विजयी



चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उनी विजयी भएका हुन् ।

विजयी लामिछानेले ५४ हजार एक सय ७६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत प्राप्त गरे । यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत प्राप्त गरे । राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत प्राप्त गरे ।

चितवन क्षेत्र नं–२ मा ७८ हजार छ सय ६४ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ९८ बदर भई ७७ हजार चार सय ६६ सदर भएको थियो । सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए ।

ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार ४०३ पुरुष र एक तेस्रो लिङ्गी रहेका थिए । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा समेत विजयी लामिछानेले त्यतिबेला ४९ हजार दुई सय ६४ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ र राप्रपाका रवीन अधिकारीले नौ सय ५५ मत प्राप्त गरे ।

गत वर्ष मङ्सिरमा सम्पन्न निर्वाचनमा ८४ हजार सात सय ५३ मत खसेको थियो । त्यसमध्ये ८३ हजार नौ सय ५६ सदर मत थियो । उक्त समयमा एक लाख २४ हजार दुई सय १५ मतदाता रहेका थिए । मङ्सिरमा १० दल र छ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो भने यसपाली १२ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए ।

चितवन क्षेत्र नं–२ मा कालिका नगरपालिका, ईच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वडा पर्छन् ।

“सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् ।

चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए । उनले सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै भने, “मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।”

यही अपेक्षालाई आफूले शिरोपर गरेको उनको भनाइ छ । उनले भने, “यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।” पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उनले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताए ।

उनले भने, “ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । यसलाई जिम्मेवारीका साथ लिनेछु ।” अर्को प्रसङ्गमा उनले सरकारलाई गरेको समर्थन कतिपय अवस्थामा औचित्य नदेखिएको जस्तो आफूले पाएको बताए । यसबारेमा राजधानी फर्किएलगत्तै समीक्षा गरेर निर्णय गरिने उनको भनाइ थियो । लामिछानेले भने, “के भयो के भएन, त्यसका आधारमा सरकारलाई दिएको समर्थनको निरन्तरता दिने÷नदिने बारेमा निर्णय गर्छौं, उनले थपे, “अहिले त्यत्ति औचित्य देखिएको छैन ।”

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ०० बजे