२२ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025

१२ कक्षा पास नगरी विदेश पढ्न जान नपाइने



शिक्षा मन्त्रालयले विद्यालय तह (कक्षा १२) सम्मका विद्यार्थीलाई बिदेश पढ्न जानका लागि “नो अब्जेक्सन लेटर” नदिने भएको छ । उक्त लेटर विना विद्यार्थीले डलर सटही गर्न पाउँदैनन् ।
साथै कक्षा १२ उत्तीर्ण नगरेका तर विदेशमा भाषा कोर्स गर्न जान खोज्ने विद्यार्थीलाई पनि नो अब्जेक्सन लेटर नदिने भएको छ ।

तर विदेशी मुलुक र शिक्षण संस्थाबाट सम्बन्धन लिई नेपालमा सञ्चालित विद्यालय शिक्षाको कुनै कक्षामा अध्ययन गर्न चाहनेलाई अनुमति दिन बाधा पर्ने छैन भन्ने व्यवस्था गरिएको छ ।

सरकारले हालै जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ मा यो व्यवस्था गरिएको हो ।

विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली नागरिकले लिनुपर्ने पूर्वस्वीकृति पत्र (नो अब्जेक्सन लेटर) सम्बन्धी निर्देशिका गत फागुन १८ मै स्वीकृत भएको थियो भने गत चैत १८ देखि लागु भइसकेको छ ।

यो निर्देशिकाअनुसार सरकारले विद्यालय तह अध्ययनका लागि भने विद्यार्थीलाई विदेश जान रोकेको छ। तर रोजगारीका सिलसिलामा अभिभावक विदेशमा भए निजका सन्तान विदेशका शैक्षिक संस्थामा पढ्न जानका लागि अनुमति पाउनेछन् ।

‘नेपाली नागरिक वैदेशिक रोजगारीमा रहिरहनुपर्ने भए, निजका सन्तानले विदेशकै शिक्षण संस्थामा विद्यालय तहको कक्षामा भर्ना गर्नुपर्ने भए वैदेशिक मुद्राको सटही सुविधा नमाग्ने गरी अध्ययन स्वीकृति माग गरेमा मनासिब लागे मन्त्रालयले स्वीकृति दिनेछ,’ निर्देशिकामा उल्लेख छ।

विद्यार्थीले उच्च शिक्षासँग सम्बन्धित भाषा कोर्स, पूर्वयोग्यता सम्बन्धी कार्यक्रम (प्रिरिक्यूजिट) कोर्स वा सेतु कार्यक्रम (ब्रीज कोर्स), मेडिकल साइन्सेस (एक्जामिनेसन कोर्स एमएलई) वा शैक्षिक संस्थाले तोकिदिएको प्रवेश परीक्षा, अन्य शैक्षिक कार्यक्रम अध्ययन गर्नुपर्ने भएमा सोको व्यवहोरा खुलाई स्वीकृतिका लागि विद्यार्थीले अनलाइनबाटै आवेदन दिन सक्नेछन्।

‘स्वदेश वा विदेशमा गुरूकुल, मदरसा, गुम्बाजस्ता धार्मिक तथा परम्परागत शिक्षा हासिल गरी विदेशमा अतिरिक्त शिक्षा हासिल गर्न जान चाहने व्यक्तिका लागि परामर्श समितिको सिफारिसमा स्वीकृति दिन सकिने’ व्यवस्थासमेत निर्देशिकामा छ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ६ : १७ बजे