प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तार गरेर कांग्रेसका तीन नेतालाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम बुधबार मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् ।
नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले गुरुङ, बस्नेत र लिम्बूलाई मन्त्री नियुक्त गरी कार्यभार तोकेको जनाएका छन् ।
सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये बाँकी रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त गरिएको हो ।
कांग्रेसबाट यसअघि पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग बाणिज्य तथा आपुर्ति, एनपी साउद परराष्ट्र र सीता गुरुङ शहरी विकास मन्त्री नियुक्त भइसकेका छन् ।
मन्त्री नियुक्त भएका गुरुङ र लिम्बू कोइराला समूहका नेता हुन् भने बस्नेत संस्थापन पक्षका नेता हुन् । यसअघि गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएपछि नेता कोइराला समूहले त्यसमध्ये तीन मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर कोइराला पक्षले दुई वटा मन्त्रालय पाएको छ ।