नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएर गएको समुहले नेकपा (एमाले) का सचिव समेत रहेका रायमाझीलाई पक्राउ पुर्जी दिएर पक्राउ गरेको हो ।
उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । उनका छोरा नविन रायमाझी यसअघि नै पक्राउ परिसकेका छन् । हालसम्ममा यस प्रकरणमा पक्राउ परेका उनी सबैभन्दा उच्च राजनीतिक तहका व्यक्ति हुन् ।
यसअघि पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्व गृहसचिव टेकनारायण पाण्डे समातिई सकेका छन् । त्यसैगरी थापाका छोरा प्रतिक थापा, राईका छोरा निरज र पंर्व सांसद आङटासी शेर्पा फरार छन् ।
प्रहरीले सोमबार रायमाझीको अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।
यसैबीच प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री खाँडको सोमबारै सरकारी वकिलको कार्यालयमा बयान सुरु भएको छ ।