१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

पेन्सिलभानियाको लाक्वाना स्टेटपार्कमा दोश्रो मेमोरियल डे क्याम्पिङ आयोजना



न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इन्क युएसएले दोश्रो मेमोरियल डे क्याम्पिङ आयोजना गरेको छ ।

मेमोरियल डे को अवसर पारेर द गुरुङ (तमु) सोसाइटीले पेन्सिलभानियाको लाक्वाना स्टेटपार्कमा ३ दिने क्याम्पिङ आयोजना गरेको हो ।

गुरुङ समुदायका बालबालिका, युवा, प्रौढ तथा वृद्धवृद्धाहरुलाई एउटै ठाउँमा जमघट गराएर एक अर्काबीच सौहार्द्धपूर्ण सम्बन्ध रहोस साथै एक अर्काकोअनुभव आदानप्रदान गर्ने उद्देश्यले क्याम्पिङ आयोजना गरेको गुरुङ सोसाइटीले जनाएको छ ।

क्याम्पिङ संयोजक भक्त गुरुङले गुरुङ युवाहरु तथा बालबालिका एकै ठाउँमा केही दिन सँगै बसेपछि उनीहरुबीच आपसी सहयोग, सद्भाव तथा भाइचाराको सम्बन्ध विकास होस् साथै एक अर्काबीच साथीभाइको सम्बन्ध बढोस् र गुरुङहरुको मौलिक संस्कृति थाहा पाओस् भन्नका लागि क्याम्पिङ आयोजना गरेको बताए ।

प्रोफेसर चित्र बहादुर गुरुङले नेपालका विभिन्न भुभागबाट आएर अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गरे पनि यसरी एकै ठाउँमा भेटघाट हुने अवसर जुटाइदिएको भन्दै आयोजकलाई धन्यवाद दिए । गुरुङ सोसाइटीका अध्यक्ष तोरण गुरुङले क्याम्पिङमा उपस्थित साना साना भाइ बहिनीहरुले स्वयंसेवक कार्यबाट एक अर्काबीच सहयोगको भावना वृद्धि हुने र एक अर्कालाई अझ बढी जान्ने अवसर भएको बताए ।

क्याम्पिङमा सिकागो, कोलोराडो, न्यूयोर्क, न्यूजर्सी लगायत राज्यबाट युवा, बालबालिका, प्रौढ, वृद्धवृद्धा गरी ९२ जना सहभागी थिए । क्याम्पिङमा ४ बर्षदेखि ७३ वर्ष उमेरका सहभागी थिए ८ बर्ष भन्दा मसन तथा ७० बर्ष माथिका सहभागीहरुलाई निशुल्क सहभागी गरार्ईएको थियो ।

गुरुङहरु मात्र नभएर अन्य समुदायका व्यक्तिहरु पनि सहभागी थिए । गुरुङहरुको प्रचलित परिकार सेलरोटी, आलुदम, अचार, नेपाली परिकारका खाना तथा विभिन्न परिकारहरु आगोमा बनाइएको थियो । योगा, हाइकिङ, भलिबल प्रतियोगिता कार्यक्रमले क्याम्पिङलाई झनै सम्झनालायक बनाएको थियो भने युवाहरुको प्रत्यक्ष गीत संगीत, अन्ताक्षरी तथा नृत्य प्रस्तुतीले थप रोमाञ्चक बनाएको थियो । क्याम्प फायर पनि गरिएको थियो ।

उपाध्यक्ष शान्ति गुरुङले यस्तो कार्यक्रमले सम्पूर्ण गुरुङहरुलाई एक आपसमा एकवद्ध हुन सहयोग पुग्ने बताए । सोसाइटीले न्यूयोर्क तथा विभिन्न राज्यमा रहेका विशिष्ट बौद्धिक तथा विभिन्न पेशा व्यवसायमा आवद्ध पेशाकर्मीहरु, युवा पुस्ता तथा पाको अभिभावक तथा बालबालिकाहरुको साझा थलोको रुपमा उभ्याउँदै गरिमामय संस्थाको रुपमा अगाडि बढाउने संस्थाको मूल उद्धेश्य अनुरुप क्याम्पिङलाई वार्षिक कार्यक्रमको रुपमा गर्दै आएको छ ।

कार्यक्रममा सचिव एलिशा गुरुङ तथा कार्यसमिति सदस्य बबी गुरुङले ३ दिन सम्म स्वतस्फुर्त रुपमा अहोरात्र खटेर स्वयंसेवकको रुपमा काम गरेको भन्दै स्वयंसेवक तथा सबै सहभागीहरुलाई कार्यक्रम सफल बनाउन सहयोग गरेको भन्दै आभार व्यक्त गरे । उपस्थित अधिकांश सहभागीहरुले व्यस्त शहर र कोलाहलपूर्ण शहरी वातावरणबाट केही दिन टाढा रहेर क्याम्पिङमा बस्दा एकदमै रमाइलो अनुभव गरेको बताउँदै आयोजकलाई फेरी पनि यस्तो क्याम्पिङ आयोजना गर्न अनुरोध गर्दै धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १ : १३ बजे