२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

भुटानी शरणार्थी प्रकरण: आरोपितले नाम लिएकार उच्च पदस्थहरुलाई अनुसन्धान गर्न माग



नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा संलग्न भनिएका उच्च पदस्थहरुलाई पनि अनुसन्धानको दायरमा ल्याउन माग गरिएको छ । जिल्ला अदालत काठमाडौंमा आरोपितहरु विरुद्धको मुद्दामा थुनछेक बहस चलिरहेको बेला जाहेरीकर्ताहरुको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद कट्टेलले आरोपितहरुले बयानमा नाम लिएकाहरुको पनि बयान लिनुपर्ने माग गरेका हुन् ।

‘जाहेरीकर्ताले बयानमा पोलेका भरमा कोही मुद्दा चलेर थुनामा बस्नुपर्ने, कोहीले उन्मुक्ति पाउने ?’ अधिवक्ता कट्टेलले प्रश्न गरे । उनले प्रतिवादीहरु सानु भण्डारी, केशवप्रसाद दुलाल, टेकनाथ रिजालले पोलेका व्यक्तिहरुले उन्मुक्ति पाउन नहुने बताए ।

अधिवक्ता कट्टेलले नक्कली शरणार्थी प्रकरणमा आरोपितले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य, तत्कालिन स्वकीय सचिव राजेश बज्राचार्यको पनि नाम लिएको बताए । त्यसैगरी तत्कालिन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, वर्तमान प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री ओलीलाई समेत पोलेको भन्दै उनीहरुमाथि समेत बयान हुनुपर्ने माग गरे ।

खासगरी अडियोमा नाम जोडिएका, आरोपितहरुले पैसा बुझाएको भनी नाम पोलेकाको हकमा बयान हुनैपर्ने भन्दै उनले यो प्रकरणमा भएको प्रहरी अनुसन्धानमाथि समेत प्रश्न उठाए । उनले रकम लिएको आरोप खेपेका आरजु देउवा, मञ्जु खाँण, नैनकला थापा, प्रेम राई लगायतको बयान लिनैपर्ने माग गरे ।

आरोपितले नाम लिएकाहरुलाई पनि बयान लिएको नजीरका रुपमा कट्टेलले उमेश रेग्मीविरुद्धको मुद्दा सम्झाएका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ६ : १२ बजे