१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

न्युयोर्कमा आठौं सामुहिक ईही कार्यक्रम सम्पन्न



नेवा: नख: न्यूयोर्कको आयोजनामा नेपाल सम्वत ११४३ तछलागा: सप्तमी (जुन १०, आइतवार) का दिन, आठौं सामुहिक ईही कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) समन्त बज्राचार्यले नेवा: विधिपूर्वक ईही सम्पन्न गराएका हुन् । उनलाई गुरूमा पुष्पा बज्राचार्यज्यू र नेवा: नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य र निर्वतमान अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधानज्यूले जजमान (मुख्य कर्ता) भै पुजा सम्पन्न गर्न सहयोग गरेका थिए ।

न्युयोर्कको ज्याक्सनहाइटस्थित शेर्पा किदुगंको भवनमा आयोजना गरिएको सामुहिक ईहीमा ४ वटा राज्यहरु न्युयोर्क, फिलाडेल्फिया, कोलराडो र मिनसोटा स्टेटहरूबाट गरि जम्मा ६ जना बालिकाहरूको सहभागिता थियो । ईही गरिएका बालिकाहरू – लसता बज्राचार्य, हेभेन महर्जन, रूवी मे महर्जन अवाले, शनाया डंगोल, आर्या रंजितकार र आर्जा नानी बज्राचार्य लगायत उक्त कार्यक्रममा बालिकाका अभिभावक-आफन्तकहरू गरि सयौं जनाको उपस्थिति थियो ।

नख:का महासचिव तुलसी नारायण चित्रकारले सम्पूर्ण अतिथि र सहभागीहरूलाई स्वागत गरि सुरू गरिएको उक्त कार्यक्रममा नख:का प्रथम उपाध्यक्ष्य डा. नरेश मान शाक्यले ईहीमा सहभागी बालिकाहरु, बालिकाहरूका अभिभावक, आफन्तकहरू, पाहुना तथा कार्यसमितिका पदाधिकारीहरूको परिचय गराई ईहीको महत्त्वको बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै नख:का संस्थापक उपाध्यक्ष, निर्वतमान अध्यक्ष तथा सल्लाहाकार बिष्णु मान प्रधानले नेवा: चाड-पर्व, परम्परा, रिति-रिवाज तथा कला-संस्कृतिको संरक्षण र प्रवर्द्धनका गर्नका लागि सन् २०११ मा न्युयोर्कमा यस संस्थाको स्थापना गरिएको कुरा व्यक्त गरे । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र अन्य संघ, संस्थाहरूले नेपाल र नेपाली समुदायको हितमा गरेका कार्यक्रमहरूमा सहभागी भई सहयोग गर्दै आएको कुरा पनि प्रधानले बताए । नखःका कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सह-कोषाध्यक्ष मेनी श्रेष्ठ र सदस्य नम्रता प्रधानले कार्यक्रममा सहभागीहरूको उपस्थिति दर्ता गराएकी थिइन् । कार्यक्रममा अतिथिको तर्फबाट नेवाः गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जनले कार्यक्रमको सफलताको शुभकामना दिए भने कार्यक्रममा फिलाडेल्फिया देखि आइका गैरनेपाली अतिथि ग्रेगोरीले यस्ता कार्यक्रमा सहभागी हुन पाउँदाको खुशी ब्यक्त गर्दै बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य, निर्वतमान अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधान, प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्य, महासचिव तुलसी नारायण चित्रकार, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ र सचिव अनित श्रेष्ठले ईही गर्ने बालिकाहरूलाई प्रशंसा-पत्र प्रदान गरी बधाई तथा शुभकामना दिएका थिए । अन्तमा, अध्यक्ष महेन्द्र बीर बज्राचार्यले कार्यक्रममा उपस्थित सबै बालबालिका, अभिभावक, गुभाजु, गुरुमा, अतिथि, नखःका सम्पूर्ण सदस्य तथा सहयोगी, स्वयमसेवीहरूलाई धन्यवाद व्यक्त गर्नुका साथै सहभागी बालिकाहरूलाई उज्जल भविष्यको कामना गर्दै बधाई ज्ञापन गरेका थिए । उनले अमेरिकामा रहेर पनि आफ्नो यस्तो महत्वपूर्ण संस्कार संस्थागत रूपमा गर्न गराउन पाउदा गौरवान्वित भएको कुरा ब्यक्त गर्नुका साथै अमेरिकामा जन्मेका नानिवाबुहरूलाई नेवाः संस्कृति, परम्परा, भाषा सिकाउदै जानु पर्ने कुरामा जोड दिए ।

नखःका द्वितीय उपाध्यक्ष श्रुति अमात्यको संयोजनमा, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सह-कोषाध्यक्ष मेनी श्रेष्ठ, सदस्य शोभना शाक्य, नम्रता प्रधान, अनिता बज्राचार्य, लघु शाक्य, मोहिनी कर्माचार्य, उजिला प्रधान, मैना बज्राचार्य, लक्ष्मी शोभा चित्रकार र निलिमा शाक्य र सरिता श्रेष्ठ, उमा माथेमा र निगिता थापा श्रेष्ठले ईहीको पुजा सामाग्री तयारी गर्नुका साथै बालिकाहरूलाई मूलढोकाबाट लस:कुस: गरि ईही गर्ने स्थलमा भित्र्याएका थिए । साथै उनीहरूले उपहार र सगुन सहित ईही गर्ने बालिकाहरूलाई “थाय्-भू” तयार गरेका थिए । संस्थाका महासचिव तुलसी नारायण चित्रकार, सचिव अनित श्रेष्ठ, र सदस्यहरू किरण रंजित, अभिषेक छोचूँ, नविन शाक्य, पुष्प श्रेष्ठ, मुनिन्द्र बज्राचार्य, जेनिश कर्माचार्य, तुलासा चित्रकार, रोहण चित्रकार, ह्यारिसन बज्राचार्य र सिद्धार्थ बज्राचार्य र सुमित श्रेष्ठले अतिथीहरूको सत्कारका साथै नेवारी खाना समयबजीको व्यवस्थापन गरेका थिए ।

न्युयोर्कमा गरिएको नेवारी परम्परागत ईहीबाट अभिभावक र बालिकाहरु लाभान्वित हुनुको साथै यस्ता कार्यक्रमबाट विदेशमा रहेर पनि नेवारी मौलिक संस्कृति र परम्पराको समेत संरक्षण र प्रवर्द्धन हुने नेवा: नख: न्युयोर्कका निर्वतमान अध्यक्ष तथा सल्लाहाकार बिष्णु मान प्रधानले जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १२ : २४ बजे