२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

प्रधानमन्त्रीको अभिब्यक्तिलाई लिएर संसदमा विपक्षीको विरोध, संसद अबरुद्ध



मंगलबार एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर विपक्षीहरुले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले विरोध गरेका छन् । प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको भन्दै आपत्ति जनाए ।

बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुबै बैठकमा एमालेका सांसदहरूले प्रधानमन्त्री दाहालको कडा आलोचना गरेका हुन् ।

सरदार प्रितम सिंहका विषयमा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर संसद्‍मा दाहालको कडा विरोध भएको हो ।

एमालेका सांसद रघु पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिबाट देश नै लजाउनु पर्ने अबस्था आउको भन्दै देशको गरिमा मेटेको टिप्पणी गरे । ‘सम्माननीय प्रधानमन्त्री पनि भनौं कि नभनौं खै !,’ सांसद पन्तले भने, ‘नेपालमा प्रधानमन्त्री दिल्लीले बनाउँछ कि संसदले बनाउँछ ?’

सांसद पन्तले प्रधानमन्त्री दाहालको राजीनामा पनि माग गरेका थिए । यस्तै एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदमा बस्ने हैसियत गुमाएको बताए ।

प्रधामन्त्री दाहालले केही दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको अभिव्यक्ति दिएसँगै राजनीतिक वृत्तमा उनको चौतर्फी आलोचना भइरहेको छ ।

पन्तले संसद्‍ बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै राजीनामा नआएसम्म संसद अगाडि बढ्न नसक्ने भनेपछि रास्वपा, राप्रपा लगायत दलका सांसदहरू पनि सिटबाट उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले बैठक नियमित रुपमा सञ्चालन गर्न खोजे पनि सांसदहरूको विरोधले संसद्‍ बैठक अवरुद्ध भयो ।

बुधबार नै राष्ट्रिय सभाको बैठक पनि एमालेका सांसदले विरोध जनाउँदा अवरुद्ध भएको छ । त्यहाँ पनि एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध गरिएको हो ।

बैठक सुरु भएदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहालको विवादित अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले राजीनामा माग गरेका थिए ।

दाहालले समय लिएर बोल्दै प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति राष्ट्रलाई नै कमजोर बनाउने खालको भन्दै आपत्ति जनाएका थिए । दाहालले आफ्नो कुरा राखेपछि अन्य सांसहरू पनि आफ्नो सिटबाट उठेर विरोध जनाएका थिए ।

प्रधानमन्त्री दाहालले भने यसअघि नै सरदार प्रितम सिंहका बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाएका थिए ।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले सिंहले आफूलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गरेको र त्यसका लागि धेरैचोटि दिल्ली गएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ५ : १९ बजे