२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

भ्रष्टाचारका थप फाइलहरु खुल्ने प्रधानमन्त्रीको दावी



प्रधानमन्त्री पुष्षकमल दाहालले ललिता निवासको जग्गा हिनामिना प्रकरणको फाइल फेरि खोलिएको र अब अन्य भ्रष्टाचारका फाइलहरु पनि खोल्दै जाने बताएका छन् । बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको दाबी गरे ।

‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ । ललिता निवासको फाइल फेेरि खोलिएको छ । यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला- थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ,’ प्रधानमन्त्री दाहालले भने ।

उनले आफूमाथि घेरा हाल्ने र भ्रम छर्ने काम जारी रहेको पनि दाबी गरेका छन् । ‘घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ,’ उनले भने ।

यसैबीच प्रधानमन्त्री दाहालले २०८४ को निर्वाचनमा २०६४ सालको भन्दा शक्तिशाली हुनेगरी परिणाम दिने पनि उनको दाबी छ ।

‘२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं । तर, पार्टी एकतावद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो । फेरि एउटा नयाँ परिस्थिति बनेको छ । माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दैछ। पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत एकतासहित अगाडि बढिन्छ,’ उनले भने ।

उनले इतिहासको तागतको बलमा आफूहरू अहिले सरकारमा रहेको तर त्यो कुरा कतिपयलाई नपचेको बताएका थिए । ‘भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्, हैरान र परेसान छन् । तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौं । सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरू छन् । तर, तिनीहरूलाई जनताले नै ठीक पार्छन्,’ प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ५ : २२ बजे