एक १६ वर्षीया नाबालिगलाई बलात्कार गरेको विषयमा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी)का दुई जना सञ्चालकविरूद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । यद्यपी उनीहरुबिरुद्ध दुवै जना बलात्कारको उजुरीमा सिधै जोडिएका भने होइनन् ।
उनीहरुलाई नाबालिकालाई क्लबका छिराएको अभियोगमा अनुसन्धान भइरहेको छ ।
जेठ ३१ गते ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो । बलात्कारको आरोप लागेका व्यक्ती र पीडित बालिकाको भेट एलओडीमा भएको थियो ।
बलात्कार अभियोगमा पक्राउ पर्नेमा पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइराला छन् ।
नाबालिगको बलात्कार भएपछि प्रहरीले एलओडी क्लबलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै दुई सञ्चालकविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति लिएको हो ।
कम्पनीको प्रबन्धपत्रमा रूदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल सञ्चालक छन् । प्रहरीले उनीहरूविरूद्ध केही दिनअगाडि नै पक्राउ पुर्जी लिए पनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
उनीहरू दुबै जनाले फोन अफ गरेर बसेको प्रहरीको भनाई रहेको छ ।
प्रहरीका अनुसार १६ वर्षीया नाबालिग जेठ ३१ गते राति फेसबुकबाट चिनजान भएकी एक साथीसँग क्लबमा पुगेकी थिइन् । यसरी क्लबभित्र पसेकी पीडितको भेट कोइरालासँग भएको थियो ।
त्यहीबाट बागडोल पुर्याएका कोइरालाबिरुद्ध किशोरीलाई बलात्कार गरेको आरोप लागेको हो । घटना भएयता किशोरीकी ती साथी सम्पर्कविहीन रहेको बताइएको छ ।