२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित, प्रतिनिधिसभा बस्दै नबसी स्थगित



प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थागित गरिएको छ ।

राष्ट्रिय सभामा शुक्रबार बजेटको बिभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो । तर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसदमा अवरोध गरेपछि स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिइरहेको छैन् । शुक्रबार पनि एमालेले राष्ट्रिय सभाको बैठक सुरु हुने वित्तिकै उठेर विरोध गर्‍यो ।

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले एमाले सांसद विमला घिमिरेलाई बोल्न समय दिए । सांसद घिमिरेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसदको कार्यसूची अगाडि नबढाउन आग्रह गरिन् ।

तर, अध्यक्ष तिमिल्सनाले प्रधानमन्त्रीले जवाफ दिने वातावरण बनाउन आग्रह गरे । एमालेले मानेन र करिब २० मिनेट (१९ मिनेट ४६ सेकेण्ड)सम्म एमाले सांसदहरु उभिइरहेपछि अधयक्ष तिमिल्सनाले बैठक नै स्थगित गरिदिए ।

प्रतिनिधिसभाको बैठक बोलाउनका लागि बसेको कार्यब्यवस्था परामर्श समितिको बैठकमा एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान राखेपछि बैठकै नबसी आइतबारसम्मका लागि स्थागित गरिएको हो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ५ : ०१ बजे