१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

प्रधानमन्त्रीद्वारा आफ्नो कमजोरी स्वीकार, संसदको गतिरोध अन्त्य



प्रधानमन्त्री पुष्पकमल दाहालले आफुले दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरेपछि एक सातादेखि रहेको संसदको गतिरोध अन्त्य भएको छ ।

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्तिका कारण नेकपा एमालेले संसद अवरुद्ध गरेपछि उनले सोमबार स्पष्टीकरण दिएका हुन् । प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर उनले आफूले दिएको अभिव्यक्तिको सन्दर्भ बताए ।

आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यसक्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको दाहालले बताए ।

त्यसक्रममा सरदार सिंहले प्रधानमन्त्री तपाईं नै हुनुपर्छ भनेको भन्दै उनले भने, ‘उहाँले भनेर प्रधानमन्त्री हुनेवाला पनि थिएन, मैले प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि भएन ।’

हालै सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको उनले सुनाए ।

‘यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यति त प्रचण्ड भयो अब गर्नुहुन्छ के ?’ दाहालले अगाडि भने, ‘थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनें ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोल्नुपर्ने स्वीकार गरेका उनले भने, ‘तर म त्यो दिन प्रधानमन्त्री भएर बोलिनँ । म ज्ञानुको बुबा भएर बोल्न पुगें । त्यो सेन्टिमेन्ट सम्झिन पुगें । प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगें ।’

उनले आफू लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास नरहेको पनि बताएका छन् । ‘म पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको हुँ, तर परिस्थितिवश मलाई प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलाग्यो । म तेस्रो पटक प्रधानमन्त्री हुँदा मलाई जनतालाई केही भन्नु छ, के गर्नु छ भनेर भनेको थिएँ, त्यही अनुसार गर्दै आएको हुँ,’ उनले भने, ‘मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन । तर जति समय हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने ठानेको छु । त्यही गर्दैछु ।’

प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको सम्बन्धमा आफू स्वयम् र अहिलेको सरकार गम्भीर रहेको बताए । ‘मिटर ब्याजपीडितहरूको आन्दोलन लामो समयसम्म किन चल्यो ? भनेर सत्ता गठबन्धनमै मैले प्रश्न गरेको थिएँ । यो विषयमा म र सरकार गम्भीर छौं । अहिले प्रतिपक्ष दलहरूले पनि यति प्रतिबद्धता देखाइसकेपछि मिटरब्याज सम्बन्धी कानुन संसद्‍बाट पास हुन्छ भन्नेमा म ढुक्क भएको छु,’ उनले भने ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ६ : ०३ बजे