१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

प्रधानमन्त्री दाहालपत्नी सीताको निधन



लामो समयदेखि बिरामी रहेकी प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ६९ वर्षकी थिइन् ।

उनी लामो समयदेखि पार्किन्सनजस्तो देखिने रोगबाट पीडित थिएन् । उनलाई ह्दयघात भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।

प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो ।

उनको उपचारका लागि अमेरिका, भारत र सिंगापुरमा उपचार गरिए पनि निको नभए पछि केही समययता घरमै राखिएको थियो । माओवादीले सुरु गरेको सशस्त्र संघर्षका क्रममा उनी परिवारसहित पतिसँगै लागेकी थिइन् ।

सीता दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन् । श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिएको छ । आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १२ : १६ बजे