राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन आग्रह गरे । सरकारले गत वैशाख २० गते ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २४ वैशाखमा प्रतिनिधिसभामा पेश भएको थियो । तर ६० दिन भित्र पारित गरिसक्नुपर्ने विधेयक संसदमा रहेको गतरोधका कारण पारित हुन सकेन ।
उक्त गतिरोधको दोष रास्वपालाई पनि लगाइएपछि कडा रुपमा प्रस्तुत भएका हुन् । मिटरब्याजविरोधी आन्दोलनकारीले रास्वपा पनि उक्त बिधेयक पास नहोस् भन्ने पक्षमा रहेको आरोप लगाउँदै आएका छन् ।
‘आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिने छ । यसपछि बस्ने बैठकमा यदि कार्यसूचीमा मिटरब्याज पीडितहरुको पक्षमा ल्याउन खोजिएको विधेयकलाई ल्याइएन भने पूर्व सूचना गरिरहेका छौं कि सदन चल्न सक्दैन, ‘ सभापति लामिछानेले भने, ‘जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन ।’
सत्तापक्षकै केही दलका कारणले मिटरब्याज सम्बन्धी विधेयकलाई रोक्न खोजिएको गाईंगुई सुनिएको उल्लेख गर्दै उनले विधेयक सदनमा ल्याएपछि को पक्षमा र को विपक्षमा खुल्ने पनि बताएका छन् ।
सरकारले विधेयक ल्याए १५ दिनभित्र पारित गर्ने गरी फास्ट ट्रयाकमा अगाडि बढाउन आफूहरु तयार रहेको उनले बताए ।