बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना थप पाँच दिन हिरासतमै रहने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १८ जनालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले आइतबार दिएको हो ।
यो प्रकरणमा सुरुमा पक्राउ परेकाहरु २० दिनदेखि हिरासतमा छन् । सुरुमा मीनबहादुर र सुधीर साहहरु समातिएका थिए । प्रहरीले यो प्रकरणका अभियुक्ताहरुलाई सुरुमा ७ दिन, त्यसपछि थप ७ दिन, तेस्रो पटक ५ दिन र चौथो पटक ५ दिन म्याद थपेको छ ।
यो प्रकरणमा पछिल्लो पटक गत बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको थियो । त्यसअघि अघिल्लो आइतबार प्रहरीले पूर्व नापी अधिकृत ध्रुव अर्याल र समरजंग कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको थियो ।
त्यस्तै काठमाडौंको त्रिभुवन विमानस्थलबाट सरकारका उच्च पदस्थ व्यक्तिसमेत रहेका राउत पक्राउ परेका थिए । यो प्रकरणमा जोडिएका मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको थियो ।