१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

मिटरब्याज सम्बन्धी कानुन सर्वसम्मतबाट पारित



मिटरब्याजमा ऋण दिएर सर्वसाधारणलाई शोषण गरेको बिषयलाई सम्बोधन गर्न तयार पारेको मिटरब्याजविरुद्ध सम्बन्धी विधेयक आइताबार राती प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ ।

उक्त बिधेयक पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्‍याली गरेका छन् । मिटरब्याज पीडित संघर्ष समितको आयोजनामा धनुषा, महोत्तरी र सिरहाका पीडितहरूले र्‍याली निकालेका हुन् ।

सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरुले माग पनि गरेका छन् । जनकपुरको बाह्रविघा मैदानबाट सयौं पीडितको संख्यामा निस्कको र्‍याली रामानन्दचौक, पीडारीचौक, थापाचौक, मधेश भवन एरिया, मिल्स एरिया, भानुचोक, शिवचौक हुँदै जनकचोकमा कोणसभामा परिणत भएको थियो ।

संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोज पासवानले सदनबाट मिटरब्याजविरुद्ध सम्बन्धी विधेयक पास हुनु मिटरब्याज पीडितको ठूलो सफलता भएको बताए ।

मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले गरेको प्रयास सराहनीय रहेको उनको भनाइ छ ।

अझै पनि धेरै मिटरब्याज पीडित न्यायको पर्खाइमा रहेका र मिटरब्याजीहरुले अन्याय गरिरहेकाले उनीहरुलाई कारबाही दायरामा ल्याउन माग गरे ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक–२०८० संशोधनसहित पास गरेको हो । जसमा मिटरब्याजलाई अनुचित लेनदेन मान्दै कारबाही गर्ने व्यवस्था गरिएको छ ।

मिटरब्याज पीडितहरुले लामो समयदेखि न्यायको माग गर्दै आन्दोलन गरिरहेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ५ : ५१ बजे