१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

ट्वीटर अब ‘एक्स’मा परिणत हुने, चरोको ठाउँ ‘एक्स’ अक्षरले लिने



मालिक इलन मस्क खरिद गरेको लोकप्रिया सामाजिक सञ्जाल ट्वीटरले आफ्नो नाम र लोगो फेर्ने भएको छ । मस्कले आफ्ना कर्मचारीहरूलाई एक इमेल पठाए र अब कम्पनी ‘एक्स’मा परिणत हुने घोषणा गरेका हुन् ।

ट्विटरको स्वामित्व ग्रहण गर्ने बित्तिकै सो कम्पनीलाई ‘एक्स कर्पोरेसन’ मा परिणत गरिसकेका मस्कले सो इमेल आफूले ट्विटरको ठेगानाबाट पठाउने अन्तिम इमेल भएको र सोमबारदेखि ट्विटरको परिचित लोगो परिवर्तन हुने बताएका हुन् ।

उनले ट्विटरको ब्रान्ड र चरो दुवैलाई बिदा गर्ने घोषणा गरेका छन् । यस्तो कार्य निकै अघि नै भइसकेको हुनुपर्ने दाबी गर्ने मस्कले आफ्नो प्लाटफर्मलाई चिनियाँ विच्याटजस्तै सुपर एप अर्थात धेरैथोक गर्न मिल्ने गरी विकास गर्न खोजिएको बताएका छन् । ट्विटरकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लिन्डा याक्करिनोले पनि कम्पनीको यो पुन:ब्रान्डिङ प्रक्रिया एक उत्साहपूर्ण अवसर भएको बताइन् ।

ट्विटरको आम्दानी आधाभन्दा कम भएको भन्ने मस्कको स्वीकारोक्ति र प्रतिस्पर्धी मेटाको थ्रेड्सले द्रुत गतिमा प्रयोगकर्ता तानिरहेको सन्दर्भमा अहिलेको अपर्झट प्रयत्नले प्लाटफर्मका मौलिक प्रयोगकर्तालाई अझै अलग गराउने अनुमान गरिएको छ ।

सन् २००६ को मार्चमा ज्याक डोर्सी, नोआ ग्लास, बिज स्टोन र एभान विलियम्सले अहिलेको चर्चित चरोसहित स्थापना गरेको ट्विटर त्यही वर्षको जुलाइबाट सार्वजनिक प्रयोगका लागि उपलब्ध भएको थियो । त्यसयता प्लाटफर्मको लोगोको रङ र शैलीसँगै प्रमुखहरू फेरिए पनि मूल लोगो र ट्विटको शैली उस्तै रहँदै आएकोमा सन् २०२२ मा मस्कले खरिद गरेपछि विभिन्न सफल र असफल प्रयोग हुँदै आएको छ । त्यसयता मस्कले कम्पनीका आधाभन्दा बढी कर्मचारीलाई अवकाश दिइसकेका छन् । अवकाश प्रक्रियालाई लिएर अनेक कानुनी र प्राविधिक झमेलामा उनी पर्दै आएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ४ : ४४ बजे