सय केजी सुन पक्राउको विषयलाई लिएर संसदमा हंगामा मच्चिएको छ । प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरिय छानविन समितिको माग गर्दै संसद अबरुद्ध गरेको छभने सत्तारुढ दलकै सांसदहरुले समेत गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।
संसदको चौथों ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले संकल्प प्रस्ताव दर्ता गराएको छ ।
एमालेले सुन तस्करी प्रकरणमा सरकारकै संरक्षणमा भएको भन्दै त्यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै एमालेका सांसदहरुले वेल घेराउ गरेका हुन् ।
‘पछिल्ले २-३ महिनाको अवधिमा २२ क्विन्टलभन्दा बढी सुन गृहमन्त्री, अर्थमन्त्रीको संरक्षण र सेटिङमा भित्रिएको छ । यो सामान्य विषय होइन,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने, ‘पछिल्लो समयमा भेटिएको सुन सेटिङ बिग्रँदा पक्राउ परेको हो ।’
उनले ३३ पटक सुन भन्सार हुँदै भित्र्याइएको उल्लेख गर्दै मन्त्रीदेखि को-को संलग्न छन् त्यसमा छानबिन हुनुपर्ने माग गरे ।
गिरीको भनाइलगत्तै एमालेका संसदहरुले नाराबाजी गर्दै वेल घेरेका थिए । सांसदहरुले नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने सुन तस्करी प्रकरणको विषयमा प्रतिनिधिसभा बैठकमा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाका निशा डाँगी, सन्तोष परियारसहितको १६ जना सांसद प्रस्तावक रहेको उक्त प्रस्तावमा अध्यक्ष रवि लामिछानेसहितका ४ जना सांदसहरूको समर्थन रहेका छन् ।
रास्वपाले सुन तस्करी प्रकरणले राष्ट्रिय सुरक्षा, सक्षम, स्वच्छ, पारदर्शी, भ्रष्टाचारमुक्त र जनउत्तरदायी सार्वजनिक प्रशासनको अवधारणामा प्रश्न उठ्ने अवस्था सिर्जना भएको जनाएको छ ।
‘यति ठूलो मात्रामा सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्यो ? सो सम्बन्धमा विस्तृत अनुसन्धान गर्न सरकारलाई माग गर्ने’ प्रस्तावमा भनिएको छ ।
सत्तारुढ दल कांग्रेसकै साँसद सुनील शर्माले सुन प्रकरणमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ नगरे आफू संसद्मै आमरण अनशन बस्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद शर्माले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे ।
‘दुई छाक भात खान नपाएर सडकमा हिँडेका नेपालीहरूले हेरिरहेको विषय हो । काठमाडौं विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन आउँदा पनि पक्डन नसक्नु भनेको हामी सबै त्यो दोषको भारिदार हुन्छौं‚’ उनले भने, ‘यो चिजलाई गुमचुम पारेर त्यो गाउँको बिचरा भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु ।’