२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

काठमाडौं महानगरमा पोलिथिन झोला प्रतिबन्ध



काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा पातला पोलिथिन झोला प्रयोगमा निषेध गर्न थालेको छ ।

काठमाडौँ महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका वस्तु तथा सामग्री सहरभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको हो ।

उक्त प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गरेको छ ।

प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइएको महानगरले जनाएको छ ।

टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच थालेको छ । यदि यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्न थालिएको हो ।

प्लाष्टिकका फूल र प्लाष्टिकका सजावटका सामान प्रयोग गर्नै नदिने महानगरले नीति लिएको छ ।

महानगरले टोली अनुगमनमा आएर जफत गर्नुअघि नै आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले त्यस्ता कार्य गर्न नहुने भनेको छ ।

काठमाडौं सहरमा उत्पादन हुने फोहोरमध्ये ७५.५ प्रतिशत जैविक र २४.५ प्रतिशत नकुहिने फोहोर रहेको महानगरले जनाएको छ ।

नकुहिने फोहोरको सबैभन्दा धेरै प्लाष्टिक ६.५ प्रतिशत रहेको छ । त्यसैगरी यसको पनि ३.८ प्रतिशत पोलिथिन झोला रहेको महानगरले जनाएको छ । नकुहिने अन्य फोहोरमा धातु, शिशा, रबर, कपडाजन्य, विद्युतीय र अन्य फोहोर रहेको महानगरले उल्लेख गरेको छ ।

काठमाडौं उपत्यकाका नदीलाई प्रदूषित गराउन प्लाष्टिकको ७० प्रतिशत भूमिका रहेको महानगरले उल्लेख गरेको छ । काठमाडौं उपत्यकामा दैनिक करिब ५० लाख थान प्लाष्टिक झोलाको प्रयोग हुने महानगरले जनाएको छ ।

यसअघि प्लाष्टिकजन्य बस्तुको उत्पादन तथा उपयोगकाकारण वातावरण र जनस्वास्थ्यमा प्रतिकुलता भइ व्यक्तिको स्वस्थ्य रुपमा बाँच्न पाउने अधिकार कुण्ठित भएको जिकिर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।

त्यसपछि सर्वोच्चले परीक्षणसिद्ध तथ्य र वैज्ञानिक निष्कर्षसहित निर्णय हुनुपर्ने जनाउँदै विज्ञ टोली गठन गरी प्रतिवेदन दिन २०६१ साल मंसिर ८ गते निर्देशात्मक आदेश दिएको थियो ।

काठमाडौँ महानगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउन १ गतेबाट प्लाष्टिकका झोला, प्लाष्टिकजन्य फूल तथा सजावटका सामान निषेध गर्ने नीति पारित गरेको थियो। त्यहीअनुसार महानगर कारबाहीमा उत्रिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ६ : २२ बजे