२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

कोशीको मुख्यमन्त्रीमा पुन: कांग्रेसका थापा नियुक्त



कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि थापाको दोस्रो पटक मुख्यमन्त्री हुने संभावना बढेको हो ।

सरकार गठनका लागि गठ बन्धनको बहुमत पुर्‍याउन गौतमले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले पदबाट राजीनामा दिएर सांसदको हैसियतमा थापाको पक्षमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि थापालाई विश्वासको मतका लागि राप्रपाको समर्थन अपरिहार्य हुन्छ ।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याएको हो ।

एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा गौतमले पदबाट राजीनामा दिन सहमत भएका थिए ।

यसअघि सभामुख नै रहेका बेला गठबन्धनकमा मुख्यमन्त्रीका उम्मेदवार थापाको पक्षमा गौतमले हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहनु पर्ने सभामुखले यसरी मुख्यमन्त्रीको पक्षमा हस्ताक्षर गर्न नहुने भन्दै गठबन्धनको मुख्यमन्त्रीलाई अपदस्त गरिदिएको थियो । सर्वोच्चको आदेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले पुन: सरकार गठनको आह्वान गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ६ : ३९ बजे