काठमाडौं जिल्ला अदालतले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश डण्डपाणि शर्माको इजलासले शुक्रबार अदालतमा उपस्थित गराइएका शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानन अघि बढाउने गरी आदेश दिएको हो ।
न्यायाधीश शर्माले आफ्नो आदेशमा कुनै पनि मुद्दामा प्रतिवादीले भागेर जाने तथा प्रमाण लोप गर्ने सम्भावना हुन्छ कि हुँदैन भन्ने हेर्नुपर्ने जनाउँदै यस्तो आदेश दिएका हु्न् ।
अदालतले शर्माविरुद्ध २०७९ साउन ५ गते नै आईएसीको नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा लेखिपठाए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यसबीचमा कुनै अनुसन्धान नै अघि नबढाएको देखिएको पनि जनाएको छ ।
शर्माविरुद्धको छानबिन अघि नबढाएको अवस्थामा उनी २०७९ मंसिर ४ गते प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएर आइसकेको पनि संसद सचिवालयलाई दिएको पत्रबाट खुलेको अदालतले उल्लेख गरेको छ ।
यस्तो अवस्थामा सांसदसमेत भइसकेका शर्मा भागेर कहीँ नजाने र प्रमाण पनि लोप गर्न सक्ने सम्भावना नरहेको ठहर अदालतले गरेको हो ।