४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सीआइवीको सोधपुछ



नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ गरेको छ । ब्युरोले उनलाई सोमबार बोलाएर बालुवाटारको ललिता निवास प्रकरणमा उनको संलग्नताबारे सोधपुछ गरिरहेको हो ।

पौड्यालले २०६९ साउन २२ गतेदेखि २०७२ साउन २१ गतेसम्म मुख्य सचिव थिए । गत साउन २१ गते मात्रै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदका निर्णयकर्ताहरूमाथि पनि छानबिन गर्न आदेश दिएको थियो । अदालतले २०६६ चैत २९ गते, २०६७ वैशाख ३१ गते, २०६७ साउन २८ गते र २०६९ असोज १८ गते मन्त्रिपरिषद बैठकबाट भएका निर्णय र त्‍यस निर्णयमा सहभागीहरूमाथि अनुसन्धान गर्न आदेश दिएको हो ।

२०६६ र २०६७ सालमा माधव नेपाल प्रधानमन्त्री थिए भने २०६९ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री थिए । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउन भूमिका खेलेको आरोप उनीहरूमाथि छ ।

माधव नेपाल नेतृत्वको मन्त्रिपरिषदले प्रधानमन्त्री निवास बालुवाटार विस्तार गर्ने निर्णय गरेको थियो । विस्तार गर्दा व्यक्तिका नाममा भएका जग्गा सट्टापट्टा गर्ने निर्णय भएको थियो । त्यही बेला नक्कली मोही खडा गरेर बालुवाटारको जग्गा व्यक्तिका नाममा पुर्‍याइएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १२ : २९ बजे