नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक दुई वर्षको फरकमा नेपाल पत्रकार महासंघसँगको सहकार्य र समन्वयमा प्रदान गर्दै आएको “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार – २०२२” बाट यस पटक संयुक्त रूपमा दिलमाया शाही र कमला तामाङ “पाख्रिन” पुरस्कृत हुने भएका छन् ।
पुरस्कार प्राप्त गर्न लागेकी शाही कर्णाली प्रदेशको जुम्लाबाट छन् भने उनी सन्धान अनलाइनमा आबद्ध छिन् । यस्तै, बागमती प्रदेशको सिन्धुपाल्चोककी पाख्रिन कान्तिपुर टेलिभिजनमा
आबद्ध छिन् ।
पुरस्कार प्राप्त गर्ने पत्रकार छनोटका लागि पुरस्कार मूल्याङ्कन, छनोट तथा सिफारिस समिति गठन गरी सार्वजनिक रूपमा पुरस्कारका लागि आवेदन आह्वान गरिएको थियो । समितिलाई प्राप्त २२७ वटा आवेदनमध्येबाट ग्रामीण क्षेत्रमा रही पत्रकारिता गरिरहेका उत्कृष्ट दुईजनाको नाम समितिले संयुक्त रूपमा छनोट गरेको हो ।
सो पुरस्कारको राशि नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ रहेको छ । यो पुरस्कार नेपालमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ । ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गरिरहेकाहरूलाई प्रोत्साहन र उत्कृष्ट रिपोर्टिङका लागि प्रेरणा मिलोस् भन्ने उद्देश्यले नेजाले सो पुरस्कारको प्रबन्ध गर्दै आएको छ ।
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार सन् २०११ बाट सुरु गरिको हो । सुरुवातमा सो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसा रहेको थियो भने सन् २०१८ बाट सो पुरस्कारको राशि दुई गुणा गरिएको हो । सो पुरस्कार पहिलो पटक सन् २०१२ मा मकवानपुरमा रहेर पत्रकारिता गर्ने प्रताप विष्टलाई प्रदान गरिएको थियो ।
यसैगरी, दोस्रो पटक सन् २०१४ मा सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका कलेन्द्र सेंजुवाललाई प्रदान गरिएको थियो भने २०१६ मा जाजरकोटका पत्रकार जनक केसीलाई प्रदान गरिएको थियो ।
यस्तै, २०१८ मा ओखलढुंगाका पत्रकार कुम्भराज राईलाई प्रदान गरिएको थियो भने २०२० मा रसुवाकी पत्रकार अनु आचार्यलाई प्रदान गरिएको थियो ।