२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

यस्ता छन् प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डाहरु



प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल हुने भएको छ । भ्रमणको औपचारिक मिति घोषणा नभए पनि प्रधानमन्त्री प्रचण्ड स्वयंले चीन भ्रमणको विषयमा सार्वजनिकरुपमा बोल्दै आएका छन् ।

मंगलबार पनि प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणका दौरान हुने छलफलका एजेन्डाका विषयमा संसदमा बोलेका छन् ।

संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद उदयशम्सेर राणाले चीन भ्रमणका प्राथमिकता र एजेन्डामाथि राखेका प्रश्नको जवाफ दिने क्रममा उनले देशको सम्बन्ध र यसअघिका भ्रमणमा भएका सम्झौता कार्यान्वयनको विषयमा जोड दिने बताए ।

‘निकट भविष्यमा हुने मित्रराष्ट्र चीनको भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाइ थप उचाइमा पु¥याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहनेछ,’ प्रधानमन्त्रीले संसदमा जवाफ दिने क्रममा भने, ‘भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइने छ ।’

उनले नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने¸ दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषय समेत आफ्नो भ्रमणका एजेन्डामा रहने बताए ।

यसैगरी सडक, उर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा ब्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि¸ शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषय समेत प्राथमिकतामा रहने उनको भनाइ छ ।

प्रधानमन्त्रीले चीन र नेपालबीच नयाँ व्यापारिक नाका खोल्ने विषयमासमेत छलफल हुने बताए ।

पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै उनले रारा लगायतका पर्यटकीय स्थलको विकासका लागि सङ्घीय स्रोतबाट सञ्चालन हुने कार्यक्रमका अतिरिक्त प्रदेश तथा स्थानीय तहबाट समेत आ–आफ्ना कार्य क्षेत्रभित्र रही पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनका कार्यहरू सञ्चालनमा ल्याउने विषयमा पनि प्राथमिकताका साथ छलफल हुने उनले बताए ।

यस्तै नाग्मा–गमगढी र गमगढी–नाक्चेलाग्ना सडकलाई उच्च प्राथमिकतामा राख्दै हाल विभिन्न खण्डहरूमा कार्य भइरहेको बारेमा पनि सदनमा जानकारी गराए । ‘हाल नाग्मा–गमगढी ६.छ कि.मि. कालोपत्रे र ८ कि.मि. ग्राभेल स्तरमा स्तरोन्नति गर्ने गरी निर्माण कार्य भइरहेको छ,’ प्रधानमन्त्रीले भने, ‘त्यसैगरी गमगढी–नाक्चेलाग्नामा १२ कि.मि. निर्माणको कार्य भइरहेको छ ।’

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ५ : ३९ बजे