नेपाल आमा सोसाईटी अफ हेल्पिङ हेण्डस् इंक युएसएले तीजको अवसर पारेर वृद्धा नेपाली आमाहरुलाई सम्मान गरेको छ ।
नेपाल आमा सोसाईटीले अमेरिकाको न्यूयोर्कस्थित क्वीन्समा तीज कार्यक्रम आयोजना गरी ६७ वर्ष भन्दामाथि उमेर पुगेका अमेरिकामा रहेका ९ जना नेपाली आमाहरुलाई सल ओढाएर सम्मान गरेको हो ।
गुल्मी स्थायी घर भएका ८२ वर्षीया वृद्धा आमा नमकला खनालले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिईन् । वृद्धाआमा खनालले तीजको अवसरमा कार्यक्रम गरी सम्मान गरेकोमा खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिइन् ।
संस्थाका सचिव जनेश गुरुङले संस्थाको उद्देश्यबारे जानकारी दिंदै संस्थाले अमेरिकामा रहेका नेपाली वृद्धवृद्धा, एकल महिला तथा नेपालमा रहेका वृद्धवृद्धाहरु तथा विपन्न एकल महिलाको लागि आर्थिक तथा आवश्यकीय व्यवस्थापनको काम गर्ने बताइन् । सचिव गुरुङले भनिन्, “नेपाली संस्कृतिलाई जगेर्ना गर्दै विदेशी भूमीमा वृद्धा आमाहरुको लागि तीज मनाउन पाउँदा खुशी लागेको छ ।”
संस्थाका अध्यक्ष बिमला गुरुङले हिन्दु नारीहरुको तीजको शुभकामना व्यक्त गर्दै विभिन्न परिस्थितिले वृद्धाश्रममा पुगेका वृद्धाहरुका लागि आर्थिक तथा भौतिक सेवा गर्ने जानकारी दिइन् ।
मानव सेवा नै ठुलो धर्म भएको मन्त्रलाई मध्यनजर गर्दै संस्थाले नेपालमा रहेका वृद्धाश्रमसँग समन्वय गरी समाज सेवा गर्ने उद्देश्य राखेको जानकारी दिइन् । अध्यक्ष गुरुङले सबै उमेर समूहका मानिसहरुका आ-आफ्नो साथीसंगी हुने भए पनि ६० वर्षभन्दा माथि उमेर पुगेका नेपाली वृद्धवृद्धाहरुको साथीहरु खासै नहुने भएकोले ६० वर्ष उमेर पुगेका वृद्धाहरुका लागि सार्वजनिक रुपमा कार्यक्रम गर्न पाउँदा खुशी लागेको बताइन् ।
कार्यक्रममा प्रशन्न मुद्रामा देखिएका वृद्धाहरुले सम्मान गरेकामा आफुहरुलाई खुशी लागेको बताउँदै आयोजकलाई आशिर्वादसहित धन्यवाद व्यक्त गरेका थिए । अमेरिकामा आएर पनि विभिन्न गाउँठाउँका वृद्धाहरुलाई एकै ठाउँमा भेला गराएर आफुहरुलाई सम्मान गरेको भन्दै कतिपय आमाहरु भावविभोर भएका थिए । समाजसेवी शारदा क्षेत्रीले वृद्धवृद्धाहरुको वर्तमान अवस्थालाई मुक्तक मार्फत चित्रण गर्दै वृद्धवृद्धाहरुलाई माया र सम्मान गर्नको लागि अनुरोध गरिन् । क्षेत्रीले वृद्धवृद्धाहरुको लागि सेवाभावले गरिएको कार्यकमको प्रशंसा गर्दै आफुले सकेको आर्थिक सहयोग गर्ने बताईन् ।
त्यस्तै समाजसेवी महिलाहरु वन्दना कोइराला, गोमा सेन लगायत महिलाहरुले वृद्धवृद्धाहरुका लागि शुरु गरिएको सह्रानिय कामलाई आफुहरुले पनि सहयोग गर्ने बताउँदै सहयोगका लागि सबैलाई आव्हान गरिन् । संस्थामा बिमला गुरुङ, उपाध्यक्ष शर्मिला शेरचन, सचिव जनेश गुरुङ, तथा पार्वती गुरुङ आवद्द छन् ।
संस्थामा आवद्ध ४ जना महिलाको आर्थिक सहयोग तथा सकृयतामा तीज कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नायिका यन्सर्ज गुरुङ तथा विनु हिराचनले नृत्य प्रस्तुत गरी वृद्धा आमाहरुलाई मनोरञ्जन गराएका थिए । कार्यक्रममा वृद्धा आमाहरुले गाउँघरमा गाउने लोक भाकाका गीत गाएर तथा नृत्य गरेर मनोरञ्जन गरेका थिए । कार्यक्रममा न्यूयोर्क, न्यूजर्सीका झण्डै ६० जना महिला तथा वृद्धाहरु सहभागी थिए ।
अध्यक्ष बिमला गुरुङले आयोजकको तर्फबाट सहयोगी सबैलाई धन्यवाद दिंदै संस्थाले भविष्यमा पनि सामाजिक कार्यक्रम गर्ने जानकारी दिइन् । संस्था न्यूयोर्क राज्यको गैरनाफामूलक कर्पोरेशन कानून अनुसार ५०१ सी (३) अन्तर्गत दर्ता भई सञ्चालनमा आएको छ ।