२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

टाइम्सको सय उदीयमान नेताको सूचीमा काठमाडौंका मेयर बालेन



अमेरिकी प्रसिद्ध टाइम म्यागेजिनले विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई समावेश गरेको छ । भविष्यमा आफ्नो क्षेत्रलाई नेतृत्व गर्न सक्ने संभावना भएका विश्वका एक सय उदीयमान नेतृत्वको सन् २०२३ को सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरिएको हो ।

टाइम म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्दै आएको छ। जसमा राजनीतिकर्मी, वैज्ञानिक, संस्थाहरुका प्रभावशाली सीईओ, कलाकार पर्दै आएका छन्। वर्ष व्यक्ति, विश्वका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको म्यागेजिनले २०१९ देखि उदीयमान नेताहरुको सूची पनि निकाल्न थालेको हो।

टाइम म्यागेजिनले बालेनलाई उदीयमान नेता मान्नुको कारण खुलाउँदै २०७९ वैशाखको स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका ३३ वर्षीय इन्जिनियर शाहले सामाजिक सञ्जाल टिकटक, फेशबुक, ट्विटरको मद्दतले “बालेन इफेक्ट” सिर्जना गरेको र अनुभवी राजनीतिज्ञहरुलाई पराजित गर्न सफल भएको जनाएको छ । चुनावमा शाह ६३ हजारभन्दा बढी मत प्राप्त गरेर विजयी भएका थिए ।

म्यागेजिनले चुनावी अभियानका क्रममा शाहले काठमाडौंको फोहोर मैला तथा सरसफाईको प्रबन्ध, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरणसहितको सहरी विकासको प्रतिबद्धता गरेको जनाएको छ । तर उनी विजयी भएपछि “ती प्रतिबद्धता पुरा गर्नेक्रममा शहरी गरीबमाथि परेको असर र उनीहरु बस्ने घरको भत्काउने कार्य गैरकानुनी देखिएको भन्दै उनले आलोचना खेप्नु परेको छ ।”

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  २ : १६ बजे