१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

सरकारले संविधान दिवसमा पदक नबाँड्ने



सरकारले हरेक वर्ष संविधान दिवसका दिन बाँड्दै आएको पदक, विभूषण र अलंकार यस पटक नबाँड्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो ।

मन्त्रिपरिषद् सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि यस्तो निर्णय लिएको हो ।

मन्त्रिपरिषद् स्रोतले यस पटकको संविधान दिवसका अवसरमा पदक नबाँड्ने निर्णय भएको जनाउँदै आउँदो वर्षका लागि उचित मापदण्ड तय गर्न समिति बनाउने निर्णय भएको जानकारी दिए ।

‘सरकारले बाँड्दै आएका पद, अलंकार र विभूषणको मान्यता भएन। खर्च मात्रै बढी भयो’, स्रोतले भन्यो, ‘त्यही भएर यस वर्ष पदक नबाँड्ने निर्णय भएको छ। मन्त्रिपरिषद् पदकबारे उचित मापदण्ड तय गर्न समिति पनि बनाउने निर्णय गरेको छ ।’

सरकारले यसअघि मनलाग्दी बाँड्दै आएका पदकलाई कतिपयले अस्वीकार गरेका थिए । राष्ट्रका लागि योगदान गरेका व्यक्तिलाई दिनुपर्ने पदक पहुँचवालाका आसेपासेसम्म पुग्न थालेपछि यसको महत्व पनि घट्दै गएको थियो ।

सरकारले बाँडेका पदक लिएका व्यक्तिहरु कतिपय भ्रष्टाचार, घुसकाण्ड र आपराधिक कृयाकलापमा पनि जोडिने गर्दा आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ६ : १२ बजे