प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एन.पी. साउदले नेपालको राष्ट्रिय दिवसको अवसरमा न्यूयोर्कमा नेपालको महावाणिज्य दूतावासद्वारा २० सेप्टेम्बर २०२३ मा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भए ।
‘नेपालमा आविष्कार र लगानीलाई सक्षम बनाउन नेपाली डायस्पोरा र व्यावसायिक सहयोगको सदुपयोग’ शीर्षकको कार्यक्रम ७८औँ संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आएका प्रधानमन्त्री दाहालसहितका नेपाली प्रतिनिधिमण्डलका सदस्यहरु सहभागिता भएका हुन् ।
प्रधानमन्त्री दाहालले सहभागीहरुलाई धन्यवाद दिंदै विदेशी लगानी, सीप र प्रविधि हस्तान्तरण, नवप्रवर्तनलाई सहयोग गर्ने र उद्यमीलगायत सबै प्रवासी नेपालीसँग नजिकबाट काम गर्ने सरकारको संकल्प व्यक्त गरे । विश्वस्तरीय विकास र अत्याधुनिक प्रविधिसँग परिचित नेपालीले आफ्नो सीप र सम्पर्कको सदुपयोग गरी नेपालमा नवप्रवर्तनका लागि नयाँ विचार र परियोजना प्रस्ताव ल्याउने विश्वास पनि उनले व्यक्त गरे ।
उनले नेपालमा विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै लागनीका लागि नयाँ दृष्टिकोण लिएर आउन पनि आह्वान गरे । साथै प्रधानमन्त्रीले गैरआवासीय नेपाली र विदेशी लगानीका प्रक्रियालाई सहजीकरण गर्नका लागि उपयुक्त कानुन ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा परराष्ट्र मन्त्री एन.पी. साउदले नेपालका विकास प्रयासमा डायस्पोरा नेपाली समुदायको भूमिका र अमेरिकी सहयोगको बारेमा प्रकाश पारेका थिए । उनले रचनात्मक सुझाव, व्यावहारिक परियोजनाहरू र संयुक्त राज्य अमेरिकामा आर्जन गरेको अनुभव साझा गरेकोमा आमन्त्रितहरूलाई धन्यवाद दिए ।
कार्यक्रममा अमेरिकामा बसोबास गर्ने नेपाली पेशाकर्मी तथा व्यवसायीहरुले नेपालमा लगानीका सम्भावना, चुनौती तथा आशातित क्षेत्रहरुका बारेमा प्रस्तुतीहरु दिएका थिए ।
नवप्रवर्तन, आईटी क्षेत्र, आतिथ्य क्षेत्र, नेपाली उत्पादनहरूको आयात-निर्यात र शिपिंग व्यवसाय, परामर्श, बैंकिङ र वित्त, कानून, सामुदायिक मामिला र शिक्षा जस्ता सेवा क्षेत्रहरूमा काम गर्ने युवा प्रतिभाहरू समेत अन्तर्क्रियामा सामेल थिए ।
कार्यक्रमको संचालन न्यूयोर्कस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले गरेका थिए ।