द गुरुङ (तमु) सोसाइटी इंक युएसएको अध्यक्षमा ओम बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
सोसाइटीको शनिबार भएको साधारण सभा तथा १२ औं अधिवेसनले ओमसहित २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सोसाइटीको महासचिवमा मच्छेदेवी गुरुङ, उपाध्यक्षमा अलिशा गुरुङ, कोषाध्यक्षमा अञ्जित गुरुङ, सहसचिवमा विजय गुरुङ, सहकोषाध्यक्षमा करुणा गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष ओम गुरुङले अमेरिकामा रहेका सबै गुरुङहरुको “एकता नै बल” भएको उल्लेख गर्दै सबैले सहयोग गरी सोसाइटीका कार्यक्रमहरु सफल बनाउन अनुरोध गरे ।

भाषा, धर्म र भेषभुषालाई जगेर्ना गर्ने कामलाई निरन्तर दिई आउने दिनहरुमा सबै गुरुङहरुलाई समेटेर जानको लागि कार्यसमितिले गरेका सबै निर्णयहरुलाई हरेक सदस्यहरुलाई इमेल तथा भाइबरमार्फत जानकारी दिने पनि उनले बताए ।
संस्थाको आर्थिक अवस्थालाई सुदृढ गर्नको लागि पहल गर्ने पनि नवनिर्वाचित अध्यक्ष गुरुङको भनाइ छ । साँस्कृतिक, शैक्षिक, खेलकुदलगायत विभिन्न समितिहरु बनाएर युवाहरुको सहभागितालाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष गुरुङले ओपन फोरुमको शुरुवात गर्ने बताए ।
आफुलाई विश्वास गरेर नेतृत्व चयन गरेकोमा सम्पूर्ण सदस्यहरु, निवर्तमान कार्यसमिति सदस्यहरु, निर्वाचन समिति तथा गुरुङ आमा समूहलाई धन्यवाद व्यक्त गर्दै भोलीका दिनमा सबैलाई हातेमालो गरेर साथ दिनको लागि सबैलाई आग्रह गरे । युवाहरुलाई हरेक कार्यक्रममा सहभागी गराई युवाहरुलाई प्रन्त्साहन गर्ने र गुरुङ आमा समूहसँग सहकार्य गरेर कसरी समाजलाई बलियो बनाउन सकिन्छ भन्ने बारेमा आमा समूहसँग सहकार्य गरी अघि बढ्ने उनको भनाइ छ ।

समाजले नयाँ नेतृत्व चयनका लागि गौतम गुरुङको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति बनाइ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । निर्वाचन समिति सदस्यहरुमा पूर्वअध्यक्ष मेख गुरुङ तथा पूर्व सल्लाहकार टेक गुरुङ थिए । यस अघिको कार्यकालमा अलिशा महासचिव, ओम कोषाध्यक्ष र अन्जित सहकोषाध्यक्ष थिए । त्यस्तै बोर्ड सदस्यहरुमा भक्त गुरुङ, लिला गुरुङ, गोमा गुरुङ, अशोक गुरुङ, विन्दु गुरुङ, भीम गुरुङ, वुद्धि गुरुङ, सागर गुरुङ, अभिषेक गुरुङ, हिरालाल गुरुङ, अर्जुन गुरुङ, प्रयुद गुरुङ, प्रकाश गुरुङ, नविन गुरुङ, केभिन गुरुङ निर्विरोध चयन भएका छन् ।
नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक गौतम गुरुङले पद तथा गोपनियताको सपथ गराएका थिए । दुई सत्रमा सञ्चालित कार्यक्रममा पहिलो चरणमा समाजले गएको २ वर्षमा गरेका कार्यक्रमको कार्यप्रगति विवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै साधारणसभाले विधान संसोधन गरी ट्रष्टी स्थापना गर्ने, कार्यसमितिको कार्यकाल ३ वर्षको रहने, नयाँ कार्यसमिति २१ सदस्य रहने व्यवस्था गरेको छ ।
आजीवन सदस्यहरुका श्रीमान श्रीमती दुवै जनालाई भोट गर्ने अधिकार रहने व्यवस्था गरेको छ । कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका न्यूजर्सी च्याप्टरका अध्यक्ष भक्त गुरुङलाई सम्मान गरिएको थियो ।
सम्मानित न्यूजर्सी च्याप्टरका अध्यक्ष भक्त गुरुङले आफु बाचुन्जेलसम्म सोसाइटीको लागि निरन्तर सहयोग गर्ने बताउन्दै सबै गुरुङहरुलाई एक भएर लाग्न अनुरोध गरे । त्यस्तै, नेपाल तथा युकेबाट आउनु भएका गुरुङ आमाबुबाहरुलाई स्वागत तथा खादा ओढाएर सम्मान गरिएको थियो ।
सोसाइटीका निवर्तमान अध्यक्ष तोरण गुरुङले आफ्नो कार्यकाल सफल बनाउनको लागि सहयोग गर्ने सम्पूण बोर्ड सदस्यहरु, सल्लाहकारहरु, आमा समुह, युवा समुह लगायत सम्पूण सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै समाजबाट कोही पनि रिटायर्ड नहुने भएकोले आफु सधै समाजको साथमा रहने प्रतिवद्धता व्यक्त गरे । निवर्तमान अध्यक्ष गुरुङले गुरुङ सोसाइटी अन्य समुदायका लागि पनि उदाहरणीय बनाउनका लागि सबै गुरुङहरुलाई अनुरोध गरे । त्यस्तै संस्थाका संस्थापक अध्यक्ष तुलसी गुरुङले उपस्थित सबै गुरुङहरुलाई धन्यवाद दिंदै सबै जना एक भएर उभिन सकेमा समाजलाई अझ बलियो बनाउन सकिने बताए । गुरुङ (तमु) सोसाइटी इंक, न्यूयोर्कको स्थापना सन् १९९९ सालमा भए पनि औपचारिक रुपमा जुन ३१, २००१ मा विधिवत रुपमा सञ्चालनमा छ । नयाँ कार्यसमितिको कार्यकाल ३ बर्षको रहने छ ।





