गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएपनि कारवाहीको ग्यारेन्टी नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।
सुरक्षाकर्मीले सुरक्षित कार्यस्थलको माग राख्दै चिकित्सकसहित स्वास्थ्यकर्मीले मंगलबारदेखि सुरु गरेको सडक प्रदर्शन शुक्रबार पनि जारी छ ।
चार दिनदेखि काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटनलगायत देशभरका अधिकांश अस्पतालका आवासीय चिकित्सकहरूको अगुवाइमा सुरक्षाको माग राख्दै स्वास्थ्यकर्मीहरू आन्दोलित छन् ।
पोखरास्थित मणिपाल शिक्षण अस्पताल र लमजुङस्थित जिल्ला अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंमा प्रदर्शन सुरु भएको हो ।
देशभरका आवासीय चिकित्सक, मेडिकल अधिकृत, स्वास्थ्यकर्मीलगायतले आन्दोलनमा सहभागिता जनाएको बताइए पनि सडकमा भने उपस्थिति न्यून रहेको छ । स्वास्थ्यकर्मीको आन्दोलनका कारण कतिपय अस्पतालमा ओपीडी सेवा अवरुद्ध भएको र ओपीडी सञ्चालन गरेका अस्पतालका पनि स्वास्थ्यकर्मी धर्ना, जुलुसमा सहभागी भएका कारण बिरामीले पाउने उपचार प्रभावित बनेको बताइएकफ छ ।
प्रहरीले समेत चिकित्सकमाथि कुटपिट गरेको गुनासो छ । प्रहरी निरीक्षकले नै डाक्टरमाथि कुटपिट गरेको सार्वजनिक वक्तत्व दिएका थिए । झाले नेपाल चिकित्सक संघले आन्दोलनको नेतृत्व नगरे पनि स्वतःस्फूर्त रूपमा विरोधका कार्यक्रम जारी रहेको जनाए । ‘डाक्टर, नर्सलाई जसले जतिबेला पनि आक्रमण गर्न सक्ने अवस्था छ, सुरक्षित छैनौं,’ उनले भने, ‘पेसाबाट पलायन हुनुपर्ने वा बिदेसिनुपर्ने अवस्था आएको छ ।’
सरकार र संघबीच भदौ ३१ गते चिकित्सक कुटपिटमा संलग्नलाई ऐनअनुसार मुद्दा चलाएर कारबाही अघि बढाउने सहमति भएको थियो । त्यतिबेला हेटौंडाको सन्चो अस्पतालका दुई चिकित्सकमाथि आक्रमण भएपछि संघले त्यसबेला पनि देशभरका स्वास्थ्य संस्था ठप्प पारेको थियो । त्यसयता पनि स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहारका घटना सार्वजनिक भएका छन् ।