नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा मन्त्री भएकाहरूलाई फिर्ता बोलाएर फ्लोरबाटै अहिलेको सरकारलाई समर्थन गरेर बस्नुपर्ने प्रस्ताव गरेका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसका नौ जना मन्त्री छन् । कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा बोल्दै थापाले अबको केही समय समाजवादी मोर्चालाई मात्रै चलाउन दिनेबारे बहसको प्रस्ताव गरेका हुन् ।
‘नेकपा माओवादी, जसपा, एकीकृत समाजवादीलगायत मिलेर समाजवादी मोर्चा बनाउनु भएको छ। यो दुई, अढाइ वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ,’ उनले भने, ‘पहिले प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ। उहाँहरूको एकै मोर्चा समाजवादी र पार्टी एकै बनाउने भन्नुभएको छ। मलाई लाग्छ कि कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं, अढाइ वर्ष उहाँहरूलाई चलाउन दिऔं। हामी फ्लोरबाट समर्थन गरौं ।’
त्यसपछि कांग्रेसले सरकार चलाउन पाउनुपर्ने उनले बताए । ‘कांग्रेसले एक्लै सरकार चलाउँछ, जस भए पनि अपसज भए पनि कांग्रेसले लिन्छ,’ उनले भने, ‘होइन भने त काम नै नहुने भयो ।’
अहिलेको सरकार कसको हो भन्ने प्रश्न उठेको उनले बताए । ‘यसो हेर्दा को सरकारमा छ, सबै छ तर जवाफ दिने बेला कसैले पनि दिँदैन,’ उनले भने ।
कोशीमा पनि माओवादीलाई सरकार चलाउन दिए हुने उनको भनाइ छ। उनले सरकार जवाफदेही हुनुपर्ने पनि बताए ।
उनले ०८४ मा कांग्रेसले गठबन्धन नगर्ने पनि बताए। ‘०८४ को चुनावमा कांग्रेसले गठबन्धन गर्दैन, गठबन्धनको बहस पनि हुँदैन,’ उनले भने, ‘माओवादीका नेताले पनि एक्लै लड्ने भन्नुभएको सुनेँ, ठिक छ ।’