२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

हत्यारालाई आममाफी दिएको भन्दै रास्वपाद्वारा राष्ट्रपतिको ध्यानाकर्षण



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट सभापति रबी लामिछद्धानेले राष्ट्रपति रामचन्द्र पौडेललाई तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । संविधान दिवसको अवसरमा नेपालगञ्जका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएको विषयमा रास्वपाले राष्ट्रपति पौडेललाई सोमबार ध्यानाकर्षण गराएको हो ।

राष्ट्रपति पौडेलले ध्यानाकर्षण पत्र बुझ्दै सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताए । राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको मान्यताअनुसार मन्त्रिपरिषदले गरेको निर्णयको जस, अपसजको भागी सरकार नै हुने भएकोले सरकारलाई नै प्रश्न गर्न पनि आग्रह गरे ।

उनले संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको बताए ।

‘हाम्रो संविधान, हाम्रो गणतन्त्र र हाम्रो संसदीय व्यवस्था तपाईंहरूले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैन । तपाईंहरू संसदमा हुनुहुन्छ, सरकार पनि संसदमा नै छ, त्यही तपाईंहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो ? अलिकति यो संविधान र व्यवस्थाअनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो,’ उनले भने, ‘कहिलेकाहीँ यहाँ आउनुपर्ने अवस्था नेताहरूको हुन सक्छ तर यसपटक आएकोचाहिँ उल्टो भयो कि जस्तो लाग्यो ।’

छ सय ७० जनाको बाँकी कैद मिनाहाको विषय प्रक्रिया पुर्‍याएर मन्त्रिपरिषदले निर्णय गरेपछि आएकोले आफूले स्वीकार गरेको राष्ट्रपति पौडेलको भनाई थियो । राष्ट्रपति पौडेलले कानुन नमिलेको भए कानुन मिलाउने, संशोधन गर्ने अधिकार संसदलाई भएको पनि स्मरण गराएका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ६ : १७ बजे