यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो ।
इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकारको प्रवर्द्धनमा लागेको भन्दै एकेडेमीले नरगिसलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो । नरगिसलाई इरान सरकारले जेलमा राखेको छ । उनलाई तेहरानस्थित कुख्यात इभिन कारागारमा राखिएको छ ।
नरगिसले पत्रकारका रूपमा इरानमा लामो समय काम गरेकी छिन् । उनले पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी थिइन् । उनलाई यसै वर्ष संयुक्त राष्ट्र संघले प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो । नरगिससहित इरानी अन्य दुई पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई राष्ट्र संघले गत मेमा प्रेस स्वतन्त्र पुरस्कार दिएको थियो ।
५१ वर्षीया नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छिन् । इरानमा मानवअधिकारविरुद्धको लडाइँमा नरगिस पर्यायवाची शब्द बनेको पुरस्कार घोषणा हुनुअघि नै सीएनएनले शुक्रबार प्रकाशित एक रिपोर्टमा उल्लेख गरेको छ ।
पटक-पटक विभिन्न मुद्दामा जेल परेकी नरगिस पछिल्लो पटक भने राष्ट्रिय सुरक्षामाथि आँच आउने र राज्यविरुद्ध दुष्प्रचार गरेको आरोपमा उनी जेल परेकी हुन् । उनी सन् २०२१ नोभेम्बर १६ मा इब्राहिम केताबदरको स्मृति समारोहमा सहभागी भएका बेला पक्राउ परेकी हुन् । इब्राहिम २०१९ को नोभेम्बरमा राष्ट्रव्यापी प्रदर्शनका क्रममा इरानी सुरक्षा फौजबाट मारिएका थिए ।
नरगिसलाई १० वर्ष ९ महिना जेल सजषा सुनाइएको छ । त्यस्तै उनीविरुद्ध १५४ कोर्राको पनि सजाय सुनाइएको थियो तर मानवअधिकार समूहका अनुसार भने उक्त सजाय अहिलेसम्म दिइएको छैन । त्यस्तै उनीमाथि यात्रा र अन्य प्रतिबन्ध पनि लगाइएको छ । नरगिस मोहम्मदीको साहसिक संघर्षले व्यक्तिगत रूपमा ठूलो क्षति भोग्नु परेको एकेडेमीले जनाएको छ । उनलाई १३ पटक पक्राउ गरिएको छ भने जम्मा ३१ वर्ष जेल सजाय सुनाइएको छ ।