१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

इजरायलमा रहेका नेपालीलाई सरकारी खर्चमा स्वदेश ल्याउन कांग्रेसको माग



सत्तारूढ नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई सरकारी खर्चमा स्वदेश ल्याउन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलको मंगलबारको बैठकले इजरायलमा हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको भन्दै उक्त घटनाको निन्दा र भर्त्सना गरेको छ ।

‘हमासको आक्रमणमा परी घाइते भई उपचाररत दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको नेपाल सरकारले सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणमा परी जीवन गुमाउने नेपालीहरूको पार्थिव शरिर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन, सम्पर्कमा नरहेका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न र इजरायलमा भएका नेपालीहरुको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरुको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखी आवश्यक आवास र भोजनको उचित व्यवस्था गर्न कांग्रेसले आग्रह गरेको हो ।

रोजगारी तथा अध्ययनका लागी इजरायल गएका नेपालीहरु इजरायलमा सुरक्षित रहने उपयुक्त व्यवस्था मिलाउने र स्वदेश फर्कन चाहनेहरुलाई अविलम्ब फर्काउने व्यवस्था मिलाउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ५ : १० बजे