२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

२५३ नेपाली लिएर इजरायलबाट उड्यो जहाज



इजरायलमा फसेका २५३ नेपाली नागरिक लिएर नेपाल एयरलाइन्सको विमान उडेको नेपाल फर्कँदै छ । गए राती नेपाल फिर्ता हुन चाहने विद्यार्थीसहितलाई फर्काउनका लागि परराष्ट्रमन्त्री एनपी साउदलगायत जहाज लिएर इजरायल गएका थिए ।

नेपाली समय अनुसार समय ५ बजेर १७ मिनेट जाँदा नेपालका लागि जहाज इजरायलको तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको लागि उडेको छ ।

सरकारले स्वेदश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरु उक्त विमानबाट नेपाल फर्किंदैछन् ।

यो पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि आउँदैछन् । यीमध्ये धनबहादुर चौधरी आक्रमणबाट घाइते भएका व्यक्ति हुन् । उपचारकै क्रममा रहेका उनलाई ट्राभल गर्न सक्ने चिकित्सकहरूले बताएपछि उनी स्वदेश नै आउन लागेका हुन् ।

आक्रमणमा परी घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । १७ जनाको समूह आक्रमणमा परेकोमा १० जनाको मृत्यु भएको थियो । शव ल्याउन भने इजरायल सरकारको प्रक्रियाका कारण केही ढिलाइ हुने बताइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ५ : ५१ बजे