१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

संघीयता र गणतन्त्र बिरोधीहरु सल्बलाएका छन्: उपेन्द्र यादव



न्यूयोर्क । नेपालमा अहिले ठूला राजनीति दल र व्यवस्थालाई नस्विकार्ने तत्वहरूको सक्रियताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि नै खतरा उत्पन्न भएको जनता समाजवादी पार्टीका अध्यक्ष मा. उपेन्द्र यादवले बताएका छन् ।

अक्टूबर २ का दिन न्यूयोर्कमा नेपाली समाज अमेरिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशमा देशी/विदेशी तत्वहरू र संघीयता, समानुपातिक प्रणाली, समावेशीकरण , धर्मनिरपेक्षता र गणतन्त्र नचाहाने शक्तिहरू सल्बलाएको बताए ।

नेपाल बहुभाषिक , बहुधार्मिक , बहुजातीय, बहुसांस्कृतिक विविधतायुक्त समाज रहेकोले कसैले कसैलाई पनि विभेद गर्न नहुने र समाजमा एकता, सद्भाव र एक अर्काको पहिचान स्विकारेर मात्र देश विकास गर्न सकिने उनको भनाई थियो ।

जनयुद्व , जनान्दोलन, मधेश विद्रोह , आदिवासी जनजाति आन्दोलन र दलित, मुस्लिम, थारू साथै महिलाहरूको बलिदानीपूर्ण संघर्ष र त्यागले अहिलेको व्यवस्था आएको हुनाले यसको रक्षा गर्दै समाजवाद उत्मुख विकासका योजनाहरू अगाडी बढाउनु सबैको जिम्मेवारी रहेको उनको भनाई थियो । अहिले देशमा ठूला भनिएका शक्तिहरू नै प्रतिगामी सोच र चिन्तनका कारण यो व्यवस्था नचाहाने तत्वहरूलाई बल मिलेको पनि उनको तर्क थियो । ”तर जनता समाजवादी पार्टीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा पछाडी हट्ने कुनै पनि सम्झौता नगरी यसलाई जोगाएर अझ प्रगतीशिल रूपमा जनताको माग बमोजिम संविधानलाई परिस्कृत रूपमा संशोधन गर्दै अगाडी बढ्ने छ” उनले भने ।

अर्को एक प्रशंगमा प्रवासमा रहेका नेपाली नागरिकहरूले आगामी निर्वाचनदेखि मतदान गर्न पाउने व्यवस्था अहिलेको सरकारले गरिरहेको बताए । साथै यसमा प्राविधिक रूपमा प्रत्यक्ष उम्मेद्वारलाई मत दिने व्यवस्था मिलाउन नसकिएता पनि समानुपातीक प्रणालीमा मतदान गर्न सकिने उनको भनाई थियो ।

प्रचण्ड नेतृत्वको सरकारका एक प्रमुख घटक रहेको जसपाले अहिलेको सरकारले गरेका हरेक कामलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्दै आएका बताए । “जनताको समस्या समाधान हुने जनजिविकाको यवालमा हामी सधै सरकारको साथमा छौं तर जनताको हित विपरितका कुनै पनि सरकारको कदमलाई हामी समर्थन गर्दैनौं” उनले भने ।

उनले अहिले देशमा धार्मिक द्वन्द मच्चाउने, सामाजिक सद्भाव खल्बल्याउने र अराजकता निम्त्याएर संघीयतालाई दोष दिने तत्वहरूले देशलाई बर्बाद पार्ने खेल खेलिरहेको बताए । साथै सरकारले संघीय ऐन बनाएर संविधानले तोकेको प्रदेशहरूको अधिकार तत्काल दिएर जनतालाई संघीयताको महसुस गराउनु पर्ने उनको भनाई थियो ।

प्रदेश सरकारलाई अधिकार नदिने अनि काम भएन भन्नु गलत हु्ने उल्लेख गर्दै नेपाल जस्तो देशमा सबैको पहिचान र अस्तित्व स्विकार्नु अपरिहार्य रहेको उनको तर्क थियो । प्रदेश नः १ को सन्दर्भमा चुनावमा जाँदै गर्दा बहुपहिचान भन्ने अनि संसदमा गएपछि एकल जातीय धार्मिक पहिचान मात्र दिने कार्य ठिक नभएको भन्दै चुनाबको बेला कसैले पनि कोशी प्रदेश नाम राख्छौं हामीलाई मतदान गर भनेर कसैले नभनेको उनको भनाई थियो । “त्यहाको ऐतिहासिक भूगोल , जातीय बसोबास, मानव समाजको ईतिहासको आधारमा सबैले स्वीकार्ने पहिचान दिनुपर्छ, त्यसका लागि अहिलेको लागि उपयुक्त नाम किराँत लिम्बुवान हो, त्यसरी नै पहिचान र सामार्थ्यको आधारमा १०+१ प्रदेश हाम्रो पार्टीको बटमलाईन नै हो” उनले भने ।

संघीय व्यवस्था भनेकै देशको विविधतालाई समेट्ने व्यवस्था भएको उल्लेख गर्दै सबैको पहिचान समेटिएको हुने बताए । उनले नेपालमा महेन्द्रकालिन खोलानालाको नाम र राज्य सत्तामा सयौं वर्षदेखि हालिमुहाली गरिरहेका जातिहरूको एकल वर्चस्व रहने गरी प्रदेशहरूको सिमाङकन गरिएकोले संघीय ब्यवस्थालाई बदनाम गरिएको उल्लेख गरदै यसलाई संविधान संशोधनमार्फत पुनसंरचना गर्नुपर्ने उनको भनाई थियो ।

अहिले केही कांग्रेस एमाले वा माओवादी नेतामा संघीयतालाई कमजोर बनाएर पुनः एकात्मक व्यवस्थामै रमाउने सोच बोकेकाहरू रहेकाले यो व्यवस्थालाई बलियो बनाउदै अगाडी बड्ने जिम्मेवारी पनि जनता यमाजवादी पार्टीको रहेको उनको भनाई थियो । साथै अहिले प्रदेश नः१ मा भईरहेको पहिचानवादीहरूको आन्दोलनमा जसपाका नेता कार्यकर्ताहरूको नेतृत्वदायी भुमिका रहेको छ , हामी कुनै पनि हालतमा कोशी नाम खारेज गरेर जनताको आन्दोलनको माग र जनताको चाहानामा बहुपहिचानयुक्क किरात लिम्बुवान वा त्यस्तै पहिचान समेटिएको नाम राख्ने बताउनु भयो । साथै अब यो आन्दोलन देशव्यापी रूपमा फैलिने पनि बताए ।

छोटो समयका लागि अमेरिका भ्रमणमा आएका जसपा अध्यक्ष तथा पूर्व उप-प्रधानमन्त्री उपेन्द्र यादवलाई न्यूयोर्कमा नेपाली समुदायको तर्फबाट स्वागत र सम्मान गरिएको थियो । त्यसक्रमा नेपाली समुदायका अगुवा बुद्वीजीवी , समाजसेवी , पत्रकार , विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपालमा संघीयता, पहिचान, समावेसी समानुपातिक प्रणाली, गणतन्त्र र धर्मनिरपेक्ष जस्ता जनताको पक्षमा उभिने र रक्षाको लागि पनि जसपामा नै आशा विश्वास र भरोसा रहेको बताइएको थियो । नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्व महासचिव लोक चेम्जोङले गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : ३२ बजे