२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

कांग्रेसले पठायो महामन्त्रीद्वयलाई भूकम्प प्रभावित क्षेत्रमा, राहत र उद्धार व्यवस्थापनमा सहयोग गर्ने



नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा नेताहरुलाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । जाजरकोट भूकम्पपछि कांग्रेसले गठन गरेको उद्धार, राहत र पुनःस्थापनाको अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति गठन गरेको हो ।

समितिको संयोजकमा दुई महामन्त्रीलाई चयन गरिएको छ । भूकम्प प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारलाई मंगलबार २१ बुँदे सुझाव दिएका नेताहरु बुधबार स्थलगत अवलोकन र अनुगमनका लागि प्रभावित क्षेत्र हिँडेका हुन् ।

कांग्रेसले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५० लाख रुपैयाँ सहयोग रकम जम्मा गरेको छ भने देशभरिका कार्यक्रमहरु स्थगित गरेर नेता कार्यकर्तालाई राहत र उद्धारमा परिचालित हुन निर्देशन दिएको छ । शुभेच्छुक संस्था प्रजातान्त्रिक चिकित्सक संघले प्रभावित क्षेत्रहरुमा चिकित्सक र औषधि पुर्‍याउने काम गरिरहेको छ भने अन्य भ्रातृ संस्थाहरु पनि भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित छन् ।

बुधबार प्रभावित क्षेत्र पुग्ने महामन्त्रीद्वय थापा र शर्मा भने मुलत: सात वटा विषयहरुमा केन्द्रीत भएर काम गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार महामन्त्रीद्वयले उद्वार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भएपनि राहत सामग्री अझै पनि कयौं पीडितमा नपुगेको समाचार आइरहेकोमा कमजोरीहरुको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यानाकर्षण र सहजीकरण गर्नेछन् ।

त्यस्तै, संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरुबीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन भन्नेबारे जानकारी लिएर थप सहजीकरण र समन्वय गर्नेछन् ।

‘उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरुबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न/गराउन सुझाव र सहजीकरण उहाँहरुले गर्नुहुन्छ,’ मुख्यसचिव पौडेलले विज्ञप्तिमार्फत् भनेका छन्, ‘उद्धार र राहतका क्रममा कांग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेको नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारीतामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनर्स्थापनामा सम्पादन गर्नुपर्ने विषयहरुको अध्ययन गर्नुहुन्छ ।’

महामन्त्रीद्वयसहितको टोलीले घाइतेको उपचारमा ध्यान केन्द्रीत गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थितिलाई ध्यानमा राखेर अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने उनले बताए ।

त्यस्तै, सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय गर्ने, पुनर्स्थापना र पुनर्निर्माणका लागि स्थानीय सरोकारवालासँग छलफल र परामर्श गर्ने काम पनि कांग्रेसको अनुगमन टोलीले गर्नेछ । कांग्रेसले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भूकम्पबाट प्रभावित क्षेत्रमा राहत उद्धार र पुनःस्थापनका लागि कार्य गर्दा अल्पकालीन र दीर्घकालीनरुपमा विभिन्न संयमताहरु अपनाउनुपर्ने सुझाव दिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ३ : ०१ बजे