१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

मनाइयो छठ



काठमाडौंसहित देशका विभिन्न स्थानमा छठ पर्वको मुख्य दिन आइतबार सूर्यको पूजा आराधना गरिएको छ । आइतबार साँझ मधेश, काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् ।

काठमाडौं उपत्यकामा मधेशी समुदायले बागमतीमा गौरीघाट, थापाथली लगायतका स्थानमा छठघाट बनाएका छन् । त्यस्तै काठमाडौंको कमलपोखरी, ललितपुर महालक्ष्मीको बोजेपोखरी, भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा पनि छठघाट बनाइएको छ ।

छठका लागि नदी, खोला, पोखरीमा पूजा सामग्रीले सजाउने र पूजा गर्ने गरिन्छ । अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

गौरीघाट र कमलपोखरीमा राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका छन् । प्रथम महिला सविता पौडेलसँगै पूजास्थल पुगेका राष्ट्रपतिले अस्ताउँदो सूर्यलाई अर्घदान गरे ।

राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेका थिए । त्‍यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरे ।

राष्ट्रपति पौडेल गुह्येश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : ४८ बजे