एकै दिन दुर्गा प्रसाई र महेश बस्नेत नेतृत्वमा एमाले भातृ संगठन युवा संघले राखेको प्रदर्शन बिहीबार सकिएको छ । प्रसाईको प्रदर्शन स्थल बल्खुमा दुई पटक सामान्य झडप बाहेक शान्तिपूर्ण रुपमा सकिएको हो । दुवै पक्षले सामाजिक सञ्जाल मार्फत चर्का अभिब्यक्ति दिंदै आएकोले झडप हुन सक्ने भन्दै सुरक्षा व्यबस्था कडा पारिएको थियो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो । काठमाडौंको विभिन्न ठाउँबाट बल्खुमा पुगेका प्रदर्शनकारीले चक्रपथमा यातायात अवरुद्ध गरेका थिए ।
उनीहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका थिए भने प्रदर्शनका कारण चक्रपथमा यातायात सञ्चालन हुन सकेन । प्रदर्शनकारीहरु बल्खुबाट माइतीघरतर्फ जाने भन्दै कालीमाटीतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोक्दा सामान्य झडप भएको थियो।
त्यसअघि कालिमाटीबाट बलेखु हुँदै तीनकुने जाने भनेर आएको युवा संघको र्यालीमा ढुंगा हानेपछि केही समय तनाव भएको थियो । तर दुवै पटक प्रहरी नियन्त्रणमा लिएको छ ।
प्रसाई र बस्नेत दुवै समुहले काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पछि सरकारले त्यहाँ निषेधित घोषणा गरेर प्रसाइको समुहलाई बल्खु र बस्नेतको युवा संघलाई तीनकुनेमा परदर्न गर्न दिएको हो ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको तीनकुनेको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी थिए । उनीहरुले आफुहरुले प्रसाइको बिरुद्ध भन्दा पनि सरकारको अकर्मण्यताको विरोधमा प्रदर्शन गरेको दावी गरेका छन् ।
प्रसाइको उत्तेजक अभिब्यक्ती
प्रसाईले बल्खुमा गरेको सम्बोधन उत्तेजक रहेको छ । उनले शुक्रबारदेखिको आन्दोलन तीनकुनेमा हुने भन्दै त्यहाँबाट सिंहादरबारतर्फ अघि बढ्ने बताएका छन् । साथै उनले नेताहरु र बैंकका सिइओहरुको घरको रेकी गरिसकेको उल्लेख गरेका छन् ।
उनले आफुहरु व्यवस्था परिवर्तन गर्न आउको भन्दै जीत भएपछि २० लाख रुपैयाँसम्मको ऋण मिनाह गरिने र त्यसभन्दा माथिको ऋण २५ वर्षसम्ममा तिर्न मिल्ने गरी व्यबस्था गरिने बताएका छन् ।