२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

चर्चित कुटनीतिज्ञ हेनरी किसिन्जरको सय वर्षको उमेरमा निधन



संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री तथा अमेरिका चीनको सम्बन्धमा सुत्रधार हेनरी किसिन्जरको सय वर्षको उमेरमा निधन भएको छ ।

नोवेल शान्ति पुरस्कार विजेतासमेत रहेका हेनरीको बुधबार कनेक्टिकटस्थित आफ्नै घरमा निधन भएको बताइएको छ ।

चर्चित कुटनीतिज्ञ उनी अमेरिकाका १२ जना राष्ट्रपतिका सल्लाहकार बनेका थिए । राजनीतिबाट सन्यास लिएपछि हेनरीले पूर्णकालीन लेखकको रूपमा आफ्नो पहिचान बनाएका थिए।

सन् १९६९ मा तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए । हेनरी एकै समयमा राष्ट्रपतिका सुरक्षा सल्लाहकार र विदेशमन्त्री बन्ने अमेरिकाका एक्ला व्यक्ति हुन् ।

यही समयमा उनले अमेरिकाको विदेश नीतिलाई परिमार्जन गर्न भूमिका खेलेका थिए । उनी जेराल्ड फोर्ड अमेरिकाका राष्ट्रपति भएका बेलामा पनि विदेशमन्त्री बनेका थिए । त्यसबेला हेनरीले चीनसँगको कुटनीतिक सम्बन्ध निमार्णको नेतृत्व लिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ४ : ४७ बजे