२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

नेपालीलाई रुसी सेनामा पठाउने गिरोह सार्वजनिक



नेपालीलाई अबैध रुपमा युद्धरत रुसी सेनामा पठाउने समुहलाई बुधबार परहरीले सार्वजनिक गरेको छ । उक्त कार्यमा नेपाली सेनाका पूर्व सैनिकको संलग्नता देखिएको छ भने जानेमा पूर्व सुरक्षाकर्मीसमेत रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाठडौँले पक्राउ गरेको १२ जनाको समूहमा सार्वजनिक गरेको हो ।

उक्त समुहमा नेपाली सेनाबाट राजीनामा दिएका उदयपुरको कटारीका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा संलग्न रहेको खुलेको हो । उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका बहालवाला कर्मचारीका पासपोर्ट संकलन गरेर रसियाको सेनामा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । केही बहालवाला प्रहरीहरूको पासपोर्ट समेत प्रहरीले बरामद गरेको छ।

हरिले २ पटकमा १८ जनालाई रसिया पठाएको खुलेको छ । उनले एकपटक ११ जनाको समूह र अर्कोपटक ७ जनाको समूह गरी रसिया पठाएको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।

हरिबहादुरले पठाएका तर रसियाबाट फर्किएकामा सशस्त्र प्रहरी समेत रहेका छन् । सशस्त्र प्रहरीका एक जना सहायक निरीक्षक फर्किएर आएका हुन् । काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा काम गरिरहेका तर यो गिरोहमार्फत रुसी सेनामा जान पासपोर्ट जिम्मा लगाइसकेका प्रहरीहरू समेत रहेको खुलेको काठमाडौँ प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए ।

उनीहरूले रुसी सेनामा पठाउँदा १० देखि १२ लाख रुपैयाँ लिने गरेको पाइएको छ । हरिले भिजिट भिषा र आमन्त्रण कार्ड उपलब्ध गराइदिए वापत शोभराज भन्ने व्यक्तिलाई अमेरिकी डलर १८५० दिने गरेको र सेटिङ, टिकेटको लागि थप २ लाख भारतीय रुपैयाँ दिने गरेको खुलेको छ ।

रसियामा राम्रो तलब सुविधा हुन्छ, ग्रिनकार्ड चाँडो बन्छ, जानको लागि ७ लाख रुपैयाँ लाग्छ र मासिक २ लाख रुपैयाँ कमाई हुन्छ भनी प्रचारप्रसार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले गैरकानुनी रुपमा नेपालबाट भारत हुँदै कसैलाई हवाईमार्गबाट खाडीका देशबाट र कसैलाई नेपालबाट भारत हुँदै स्थलमार्गबाटै रसिया पुर्‍याउने गरेको खुलेको छ ।

पक्राउ परेका मध्ये दुई जनाको साथबाट ४३ थान राहदानी समेत बरामद भएको छ । सुजाता दाहालको कार्यालयबाट २७ थान र ईश्वर अधिकारीको कार्यालयबाट १६ थान पासपोर्ट बरामद भएको हो ।

यस्तै, सुजाताको कार्यालयबाट १४ लाख १८ हजार ५ सय रुपैयाँ र ईश्वरको कार्यालयबाट १३ लाख ४२ हजार रुपैयाँ बरामद गरेको छ।

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका ६ का ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौंको जोरपाटीका २७ वर्षीय सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती २ का २३ वर्षीय मनिष न्यौपाने, काठमाडौं महानगरपालिका १६ का २३ वर्षीय रोजन महर्जन, बुढानिलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिराहाको गोलबजारका १९ वर्षीय दिपेन परियार रहेका छन् ।

यस्तै काभ्रेपलान्चोको सल्ले भुम्लु १ का २९ वर्षीय सुबास लामा, चितवनको राप्ती नगरपालिका १ का २५ वर्षीय गोकर्ण अर्याल, बारको जितपुर उपमहानगरपालिका २ का २४ वर्षीय सन्तोष नेपाल, ओखलढुंगाको मानेभञ्ज्याङ ६ की २५ वर्षीया सुजता दाहाल, लमजुङको दोर्दी गाउँपालिका २ का ३५ वर्षीय ईश्वर अधिकारी र दाङको घोराही उपमहानगरपालिका ८ का ३८ वर्षीय द्रोणा डाँगी रहेका छन्।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  १२ : १५ बजे