इजरालबाट गाजा क्षेत्रको मिलिटेन्ट समुह हमासले अपरहण गरेको नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसमक्ष नेपालले औपचारिक आग्रह गरेको छ ।
कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँगको शिष्टाचार भेटको क्रममा यो आग्रह गरेका हुन् ।
कतारको दोहामा भएको भेटमा दुईपक्षबीच व्यापार र लगानीका विषयमा, कतार फण्ड फर डेभलपमेन्टमार्फत् सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानका साथै विपिन जोशीको रिहाइका विषयमा विशेष छलफल भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
जवाफमा कतारका प्रधानमन्त्रीले विपिनको रिहाइका लागि सबै प्रयास भइरहेको जानकारी दिएका छन् ।
विपिन गत असोज २० गतेदेखि हमास समूहको कब्जामा छन् । उक्त दिन इजरायमा हमासले गरेको आक्रमणमा परी इजरायलमा काम गरिरहेका १० नेपालीको ज्यान गएको थियो ।
इजरायली तथा अन्य देशकासहित १४ सयको हमासले हत्या गरेपछि इजरायले गाजामा गरेको आक्रमणमा परी १६ हजार भन्दा बढी प्यालेष्टाइनीको मृत्यु भइसकेको छ । इजरायलको आक्रमण जारी छ ।