कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको पनि रुस–युक्रेन युद्धमा मृत्यु भएको पुष्टी भएको छ । तीन महिनाअघि रुसी सेनामा भर्ना भएका शाह मृत्यु भएको खबर शुक्रबार परिवारलाई दिइएको छ ।
रुसी सेनामा भर्ना भएका मध्ये मृत्यु हुने शाह सातौं नेपाली हुन् । दुई जना युक्रेनी सेनाको कब्जामा रहेका छन् ।
मृत्युको खबर पाएपछि बुवा आमा र श्रीमतीले आफन्तजनको सरसल्लाहमा आइतबार कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका छन् ।
शाहको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रुपमा जानकारी दिइसकेको छैन ।
मृतक शाहका भाई मंगल शाहका अनुसार उनीसँगै कार्यरत सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएको हो । शव आउने/नआउनेसमेत टुंगो नभएपछि आइतबार परम्परा अनुसार अन्तिम संस्कार गरेका हो ।
सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए । दुबईमा उनी गार्डको काम गर्थे । दुबईमा पनि राम्रै तलब भएपनि उनी तीन महिना अघि रुसी सेनामा भर्ना भएको बताइएको छ ।
नोभेम्बर २६ तारिखमा उनको रुसको सीमा क्षेत्रमा गोली लागेर मृत्यु भएको खबर उनका सहकर्मी कञ्चनपुरका रविन थापाले पठाएको हो ।