पोखराका राजवादीहरुले सडकको चोकमा मध्यराती पूर्वराजा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरेर वीरेन्द्र चोक घोषणा गरेका छन् ।
शालिक पुनर्निर्माण समितिले मध्यरातमा करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको हो । आयोजकले भने साइत हेराएर राति साढे एक/पौने २ बजेतिर सालिक पुनर्स्थापना गरिएको बताएको छ ।
पोखरा महानगरपालिका-१० मा पर्ने यो ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो । २०६२/०६३ को जनआन्दोलनका क्रममा सालिक तोडफोड भएको थियो । पछिल्ला समय स्थानीयले चोक बुच्चो भयो, सालिक हुनुपर्छ भनेपछि मनवीर गुरुङको अगुवाइमा सालिक पुनर्निर्माण समिति बनाएर काम गरिएको बताइएको छ ।