१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

बंगलादेश र चीनलाई पनि बिजुली बेच्ने प्रधानमन्त्री दाहालको भनाई



प्रधानमन्त्री पुष्पकमल दाहालले भारतलाई मात्र नभई बंगलादेश र चीनलाई समेत बिजुली बिक्री गर्ने बताएका छन् ।

उनले सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा देश र जनताका नाममा सम्बोधन गर्दै भारतसँग विजुली बिक्री भइरहेको उल्लेख गर्दै बंगलादेश र चीनलाई बिद्युत बिक्री गर्ने तयारी भइरहेको बताएका हुन् ।

‘दोस्रोपटक प्रधानमन्त्री हुनुअघिसम्म १८ घण्टा लोडसेडिङ हुनु स्वाभाविक मानिन्थ्यो, आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ । एक वर्षमा बिजुली बेचेर १५ अर्ब २७ करोड आर्जन गर्ने अवस्थामा पुगेको छ’ उनले भने ।

उनले पाँच वर्षमा यो अवस्था आउने कल्पना पनि नगरिएको दाबी गर्दै भारतमा बिजुली बिक्री सुरु भइसकेको र चाँडै बंगलादेशमा समेत बिजुली बिक्री गरिने बताए ।

‘बंगलादेशलाई ४० मेगावाटसम्म बिजुली निर्यात गर्न त्रिदेशीय सम्झौता हुँदैछ’ उनले भने । साथै चिलिमे केरुङ प्रसारणलाइन बन्दै गरेकाले पछि चीनमा पनि बिजुली निर्यात गर्ने उनले बताए ।

उनले मुलुकले ५ खर्ब बराबरको बिजुली बेचे सम्पन्न बन्न सकिने सम्भावना रहेको पनि उल्लेख गरे । साथै उनले अब ठूला गेम चेञ्जर बिद्युत आयोजनाहरुमा ध्यान दिने पनि बताए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : ५२ बजे