रुसी सेनामा भर्ती हुन गएका थप ३ नेपालीको मृत्यु भएको छ । उनीहरुको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो । योसँगै रुस-युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।
अनौपचारिक स्रोतहरुका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरी रहेका छन् ।
यसअघि स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल युद्धमा मारिएको सरकारले जनाएको थियो । मंसिर १८ मा धादिङको पूर्णबहादुर गुरूङको मृत्यु भएको भन्दै परिवारले काजकिरिया गरेपनि सरकारले आधिकारिक रुपमा भनेको छैन ।
हालसम्म रुसी सेनाको तर्फबाट लडेका चार जना नेपालीलाई युक्रेनी सेनाले कब्जामा लिएको छ । उनीहरूलाई छुटाउने सम्बन्धमा परराष्ट्रले गृहकार्य गरिरहेको जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदीले रुसी सेनामा भर्ना भएकामध्ये १०० जना सम्पर्कविहीन रहेको निवेदन आफूहरुलाई प्राप्त भएको यसअघि बताएका थिए । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ना हुन नेपालका करिब २०० जना भर्ना हुन गएको उल्लेख गरेका थिए ।